फतुवा विजयपुरमा मेयरका प्रबल दावेदार यादव घरदैलोमा, विकासका एजेन्डा प्रस्तुत

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका प्रबल दावेदार मानिएका युवा नेता ज्ञानेन्द्र यादव नगरवासीसँगको भेटघाट र संवादमा सक्रिय देखिएका छन्।
वडा दसैँ, दीपावली तथा आउँदै गरेको छठ पर्वको अवसर पारेर यादव नगरपालिकाका विभिन्न टोल तथा बस्तीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै स्थानीयसँग सम्बन्ध विस्तार गर्न जुटेका हुन्।
यसैक्रममा मंगलबार वडा नम्बर ६ स्थित पेटभर्वा गाउँमा आयोजित कार्यक्रममा उनी सहभागी भए। सोमबार पनि उनले अर्को कार्यक्रममा सहभागी भएर स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए।
पेटभर्वामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यादवले आफूलाई नेताका रूपमा नभई गाउँलेहरूको भाइका रूपमा प्रस्तुत गरे।
‘म कुनै नेता होइन, तपाईंहरूकै भाइ हुँ। अहिले चुनाव आउन धेरै समय बाँकी छ।
म मत माग्न आएको होइन, तपाईं अग्रजहरूको सल्लाह, सुझाव र आशीर्वाद लिन आएको हुँ,’ उनले भने।
उनले आफू अहिलेसम्म कुनै सार्वजनिक पदमा नरहे पनि फतुवा विजयपुर नगरपालिका र समग्र निर्वाचन क्षेत्र नम्बर ३ को विकास निर्माण तथा स्थानीय नागरिकका समस्या समाधानका लागि निरन्तर सक्रिय रहँदै आएको दाबी गरे।
विगतमा आफ्नो पहलबाट भएका विकास निर्माणका कामबारे पनि उनले स्थानीयलाई जानकारी गराए।
यादवका अनुसार २०७० सालमा उनका भाइ सुनिल कुमार यादव (जितेन्द्र) रौतहट क्षेत्र ३ (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएपछि पेटभर्वावासीको मागअनुसार पेटभर्वा र बारा जिल्लाको मलाही जोड्ने अडुवा नदीको पुल निर्माणका लागि डीपीआर तयार गराउनेदेखि निर्माण कार्य सम्पन्न गराउन पहल गरिएको थियो।
सोही वर्ष विजयपुरदेखि पेटभर्वासम्मको सडक कालोपत्रे गराउन पनि आफ्नो भूमिका रहेको उनले बताए।
त्यसैगरी, दाजु प्रदेशको अर्थमन्त्री बनेपछि पेटभर्वादेखि टेङ्ग्राहसम्म करिब पौने पाँच करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गराउने काम भएको उनले उल्लेख गरे।
विकास निर्माणका आगामी योजनाबारे चर्चा गर्दै यादवले पेटभर्वादेखि रामदासी जोड्ने अलपत्र सडक मर्मत गराउने र आवश्यक स्थानमा कल्भर्ट निर्माण गराउने प्रतिबद्धता व्यक्त गरे।
पेटभर्वास्थित माध्यमिक विद्यालयको भवन निर्माणका लागि नगरपालिकामार्फत पहल गरेर बजेट ल्याउन सहयोग गरेको उल्लेख गर्दै उनले विद्यालयमा कम्पाउन्ड वाल निर्माण र शिक्षक व्यवस्थापनका लागि समेत पहल गर्ने बताए।
कार्यक्रममा उनले पेटभर्वा गाउँको नाम परिवर्तन गर्ने विषयलाई लिएर पेटभर्वा र दुबंशीबीच देखिएको विवादप्रति पनि चिन्ता व्यक्त गरे।
गाउँको नाम परिवर्तनबाट कसैलाई विशेष लाभ नहुने भन्दै यसले सामाजिक सद्भाव बिगार्न सक्ने उनको भनाइ थियो।
‘गाउँको नाम परिवर्तन गराएर कसैलाई फाइदा हुनेवाला छैन।
बरु यसले गाउँमा द्वन्द्व निम्त्याउन सक्छ।
पहिलेकै नाम कायम राखेर आपसी समझदारी र मेलमिलापका साथ बस्न म आग्रह गर्छु,’
यादवले भने। विवाद समाधानका लागि आफूले पनि आवश्यक पहल गर्ने उनले बताए।
यसैगरी, स्थानीय युवाहरूको मागलाई सम्बोधन गर्दै पेटभर्वाको क्रिकेट मैदान छिट्टै मर्मत गराउने र खेलाडीहरूका लागि ड्रेसको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
शुभकामना आदानप्रदानको नाममा आयोजित कार्यक्रममा विकास निर्माण, शिक्षा, खेलकुद र सामाजिक सद्भावका विषयलाई प्राथमिकता दिएका यादवले स्थानीयका समस्या सुन्ने र सुझाव संकलन गर्ने प्रयास गरेका छन्।
आगामी निर्वाचनमा कांग्रेसबाट मेयर पदका आकांक्षीका रूपमा चर्चामा रहेका यादवको गाउँगाउँमा भइरहेको भेटघाटलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको छ।
यद्यपि निर्वाचनको समय आउन बाँकी रहेकाले आफूले अहिले नै मत माग्नेभन्दा जनताको भावना बुझ्ने र विकासका सवालमा सहकार्य गर्ने उद्देश्य राखेको उनको भनाइ छ।



