Blog

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ।

शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो।

चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको व्यवस्थापन भइसकेको छ भने बाँकी शवहरू गाड्ने काम आज पुनः जारी रहनेछ।

चितवनमा शनिबारसम्म बाढीले बगाएर ल्याएका कुल २५९ जनाको शव फेला परेको छ। फेला परेकामध्ये ९ जनाको मात्र आफन्तले पहिचान गरी बुझिलिएका छन् भने बाँकी शवहरूको पहिचान खुल्न सकेको छैन।

प्रशासनले पछि पहिचान गर्न सहज हुने गरी अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर शवहरूको व्यवस्थापन गरिएको जनाएको छ। गाड्नु अघि नै सबै शवको डिएनए नमुना संकलन गरिएको छ। त्यसपछि शवमा नष्ट नहुने किसिमको संकेत नम्बर अंकित गरी गाडिएको छ भने पछि आफन्तको डिएनए परीक्षण रिपोर्ट मिल्दा पहिचान गर्न सजिलो होस् भनेर शव पुरिएको बाहिरी भागमा पनि सोही संकेत नम्बर राखिएको छ।

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

काठमाडौँ, १४ भदौ। ट्विटर फर्किएको छ। त्यो ‘निलो चरा’ पुनः देखा पर्दैछ।एकछिन पर्खनुहोस्, तपाईंको सोच एलन मस्कको ‘एक्स’ तर्फ नदौडाउनुहोस्। मस्कले ‘एक्स’ को नाम फेरि ‘ट्विटर’ राख्न लागेका होइनन्स यो ‘ट्विटर’को ‘एक्स’सँग कुनै सम्बन्ध छैन। यद्यपि, यसको सम्बन्ध ट्विटरका एक पूर्व कर्मचारीसँग भने पक्कै छ।

 

अमेरिकाको भर्जिनियामा आधारित ‘अपरेसन ब्लुबर्ड’ नामक स्टार्टअपमार्फत सामाजिक सञ्जालको दुनियाँमा ‘ट्विटर’ नामको पुनरागमन भएको छ। यो स्टार्टअप ट्विटरका पूर्व जनरल काउन्सिल अर्थात् कानुनी सल्लाहकार स्टिफन कोट्सद्वारा सञ्चालित छ र यसले ‘ट्विटर नाउ’ नामक नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ।

 

यो सुरुवात एलन मस्कको ‘एक्स कर्प’सँगको कानुनी विवादबीच भएको हो। ट्विटरसँग सम्बन्धित बौद्धिक सम्पत्तिको प्रयोग रोक्नका लागि एक्स कर्पले डेलावेयरको संघीय अदालतमा ‘अपरेसन ब्लुबर्ड’ विरुद्ध मुद्दा दायर गरेको थियो। आर्स टेक्निका को रिपोर्टअनुसार, यो विवाद ‘ट्विटर’ नाम, ‘ट्विट’ शब्द र प्रसिद्ध निलो चराको लोगोमा केन्द्रित छ।

‘अपरेसन ब्लुबर्ड’ को दाबी छ कि सन् २०२२ मा मस्कले ट्विटर अधिग्रहण गरी त्यस सेवालाई ‘एक्स’ को रूपमा पुनः ब्रान्ड गर्दा ‘एक्स कर्प’ ले उक्त ट्रेडमार्क र त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारहरू त्यागेको थियो। अपरेसन ब्लुबर्डले स्पष्ट रूपमा भनेको छ कि एक्स कर्पले उक्त नाम त्यागेपछि उनीहरूले त्यसलाई अपनाएका हुन् र हाल ‘ट्विटर नाउ’ को रूपमा पुनः सञ्चालनमा ल्याएका हुन्।

 

उनीहरू दाबी गर्छन्, “हामी एक्स होइनौँ, न त हामी एक्स कर्पसँग आबद्ध छौँ।” यद्यपि, यो विषय हाल अदालतमा विचाराधीन छ।

 

‘अपरेसन ब्लुबर्ड’ अन्तर्गत ‘ट्विटर नाउ’ लाई परम्परागत ट्विटरजस्तै देखिने गरी तयार पारिएको छस जसमा ‘रिप्लाई’ र ‘रिट्विट’जस्ता परिचित सुविधाहरू समावेश छन्। यस नयाँ सेवामा ‘भेरा’ नामक स्वचालित तथा वास्तविक समयमा तथ्य जाँच गर्ने प्रणाली पनि समावेश छ।

 

कम्पनीका अनुसार यसको उद्देश्य अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गलत सूचनाको प्रसारलाई रोक्नु हो। हालका लागि यसको पहुँच सीमित व्यक्तिहरूमा मात्र राखिएको छ भने ट्रेडमार्कसम्बन्धी विवाद समाधान भएपछि यसलाई सर्वसाधारणका लागि खुला गरिनेछ।

 

सन् २०२२ अप्रिलमा अर्बपति एलन मस्कले ४४ अर्ब डलर ज्ञ को विशाल रकममा ट्विटर खरिद गरेका थिए। त्यसको केही महिनापछि उनले पूरै कम्पनी द्द मा व्यापक फेरबदल गर्दै तत्कालीन सीईओ पराग अग्रवाललगायत लगभग सम्पूर्ण टोलीलाई बाहिर निकालेका घ  थिए। पछि जुलाई २०२३ मा यस प्लेटफर्मको नाम परिवर्तन गरेर ‘एक्स’ राखिएको थियो। 

मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

 मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १० बजेतिर सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा परेर ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी घर भएका २६ वर्षीय शुक्र दमाईको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दमाईलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ आइतबार बिहानका राति १२ः३५ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राई गम्भीर घाइते भएका छन् । उर्लाबारीमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ । दुर्घटनाको कारण पत्ता लाग्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९:०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको र २४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी पूर्वमा १८४, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोर्खामा ५८, नवलपरासी पश्चिममा ८२ तथा तनहुँमा ३६ जनाको शव फेला परेको छ।

बाढीका कारण सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी तथा विदेशी पर्यटकसहित कुल २४९८ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २७, नेपाल सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ४, जलविद्युत् आयोजनाका ९३३, रसुवाका ५६२ र नुवाकोटका ११५ जना रहेका छन्। यसैगरी ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै घुम्न गएका १२७ जना नेपाली पनि बेपत्ता रहेका छन्।

घटनामा २४२ जना घाइते भएका छन्, जसमध्ये केहीको उपचार भइरहेको छ भने केही डिस्चार्ज भइसकेका छन्। बाढी प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा १९,८९५ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ७,२९३, नेपाल सेना ८,३९९ र सशस्त्र प्रहरी ४,२०३) खटाइएको छ। सुरक्षा निकायले हालसम्म ८,१८६ जनाको सफलतापूर्बक उद्धार गरेका छन्, जसमा नेपाली सेनाले २९७४, नेपाल प्रहरीले २६९९ र सशस्त्र प्रहरीले २५१३ जनाको उद्धार गरेका हुन्।

जलविद्युत्को सुरुङबाट आज बिहान १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। यस्तै, २२७ जना विदेशी नागरिकको पनि हेलिकप्टरबाट उद्धार गरिएको छ।

नेपाल सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत वितरण गरेको छ। साथै, ३७ ट्रक तथा ७ वटा हेलिकोप्टर उडानमार्फत खाद्य र गैरखाद्य सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पठाइएको छ।

नुवाकोटका भैरवी, सुर्यमती र पञ्चकन्या आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। यस्तै, १४ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र २५ हजार लिटर खपत भएको जनाइएको छ।

शवहरूको पहिचानका लागि २१ अस्पतालमा राखिएको छ। पहिचान नखुलेका शव र बेपत्ताको विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज तथा नेपाल प्रहरीको वेबसाइट (udb.nepalpolice.gov.np/disaster) बाट हेर्न सकिनेछ।

कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा नदीले कटान गरी सडक भासिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक भासिएसँगै काठमाडौं भित्रिने र बाहिरिने मुख्य राजमार्ग ठप्प हुँदा हजारौँ यात्रु तथा सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन्।

प्रहरी र स्थानीय प्रशासनका अनुसार सडक पूर्ण रूपमा क्षति भएकाले तत्काल साना तथा ठूला कुनै पनि सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था छैन। सडक खुलाउने र वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ।

गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा आइतबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।

कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना, तीव्र गतिमा गुडाउने ८२ जना र रातो बत्ती मिच्ने २९ जना रहेका छन्। 

त्यस्तै, सीसीटीभी निगरानीमार्फत ६८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएका २० जना, एकतर्फी (वान-वे) बाटोमा चलाउने १२ जना र लेन अनुशासन पालना नगर्ने ६ जना चालक पक्राउ परेका छन्।

यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३४१ जना चालकलाई पनि नियमानुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन, बाढीको जोखिम टरेपछि रोकिएका गाडी गन्तव्यतर्फ

काठमाडौं । बाढीको जोखिम रहेको सूचनापछि रोकिएका काठमाडौं-मुग्लिन सडक खण्डका सवारी साधनहरू पुन: सञ्चालनमा आएका छन्।

आइतबार बिहान रसुवातर्फबाट पुन: बाढी आएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढदेखि पोखरा, मुग्लिन र काठमाडौं आउजाउ गर्ने सबै सवारी साधनलाई सुरक्षित स्थानमा रोकेको थियो।

सुरुवाती जोखिमको सूचनालगत्तै काठमाडौंबाट बाहिरिने गाडीहरू नागढुंगा र चितवनतर्फबाट आउने गाडीहरूलाई बाटोमै रोकिएको थियो। तर, पछि बाढीको ठूलो जोखिम नरहेको पुष्टि भएपछि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले रोकिएका सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा सुचारु भइसकेको छ।

यातायात सहज भए पनि प्रहरीले जोखिमयुक्त स्थानमा गाडी नरोक्न र यात्राका क्रममा सम्बन्धित निकायले दिएको सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि गृह मन्त्रालय, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा निरन्तर हेलिकप्टर परिचालन भइरहेको छ। तर, केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएकाले प्राधिकरणले यस्तो चेतावनी दिएको हो।

अत्यावश्यक खोजी तथा उद्धार कार्यका बेला अनधिकृत रूपमा उडाइएका ड्रोनले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरको उडानमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले ‘मानवरहित हवाई उपकरण (ड्रोन) उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

स्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेसमेत प्राधिकरणले स्पष्ट पारेको छ।

एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

मुम्बई, १४ भदौ। शाहरुख खानका प्रशंसकहरू उनको आगामी चलचित्र ‘किङ’ को व्यग्र प्रतीक्षा गरिरहेका छन्।

 

यस चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन्। शाहरुखकी छोरी सुहाना खान, अभिषेक बच्चन, अनिल कपुर, रानी मुखर्जी, दीपिका पादुकोण, अभय वर्मा र जयदीप अहलावतलगायत बलिउडका धेरै चर्चित कलाकारहरू यस चलचित्रमा देखिने छन्। यसको प्रदर्शन मिति २४ डिसेम्बर २०२६ तोकि सकिएको छ।

 

यसैबिच प्राप्त अर्को जानकारी अनुसार दक्षिण भारतीय सुपरस्टार नागार्जुनको अभिनय रहेको चलचित्र पनि सोही दिन प्रदर्शन हुने तय भएको छ। रोचक कुरा त के छ भने, उनको चलचित्रको शीर्षक पनि शाहरुखको चलचित्रको जस्तै छ। शाहरुख खानको चलचित्रको शीर्षक ‘किङ’ रहेको छ भने नागार्जुनको चलचित्रको नाम ‘किङ १००’राखिएको छ।

 

शाहरुखको चलचित्र ‘एक्सन थ्रिलर’ भए जस्तै नागार्जुनको चलचित्रमा पनि भरपूर एक्सन रहने अपेक्षा गरिएको छ। नागार्जुनको ६७औँ जन्मदिनको अवसर पारेर अगस्ट २९ मा यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा उनी सशक्त र एक्सनले भरिपूर्ण अवतारमा देखिएका छन्। टिजर हेरेपछि प्रशंसकहरू यस चलचित्रलाई लिएर निकै उत्साहित भएका छन्।

 

आर ए कार्तिकद्वारा निर्देशित ‘किङ १००’ पनि यसै वर्षको डिसेम्बर २४ मा ठूलो पर्दामा प्रदर्शन हुँदैछ। यसरी एकातिर तेलुगु सिनेमाका सुपरस्टार नागार्जुन छन् भने अर्कोतिर बलिउडका ‘बादशाह’ भनेर चिनिने शाहरुख खान छन्। यी दुवैजना आ आफ्ना चलचित्रमार्फत ‘किङ’का रूपमा एकै दिन ठूलो पर्दामा आउँदैछन्।

 

दुवै चलचित्र एउटै मितिमा प्रदर्शनमा आउँदै भए तापनि बक्स अफिसमा तिनका बीच कुनै वास्तविक प्रतिस्पर्धा हुनेछैन। यसको कारण के हो भने यी चलचित्रहरूले बिल्कुलै फरक फरक दर्शक वर्गलाई लक्षित गरेका छन्। वास्तवमा, हालको जानकारी अनुसार ‘किङ’ केवल हिन्दी भाषामा र ‘किङ १००’ केवल तेलुगु भाषामा प्रदर्शन हुँदैछ । फलस्वरूप, बक्स अफिसमा एउटा चलचित्रले अर्कोलाई कुनै चुनौती दिने अवस्था छैन।

जे होस्, टिजर सार्वजनिक भएयता नागार्जुनले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेका छन्। उनको अन्दाज र एक्सनले भरिपूर्ण अवतारले दर्शकको मन जितिरहेको छ। मुख्य भूमिका निर्वाह गर्नुका साथै उनी यस चलचित्रमा निर्माताका रूपमा पनि जोडिएका छन्। यो चलचित्र उनको पारिवारिक प्रोडक्सन कम्पनी ‘अन्नपूर्ण स्टुडियोज’ को ब्यानरमा निर्माण भइरहेको छ।

भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ५ लाख मूल्यको फर्सीको बियाँ बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकडभिट्टाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगबहादुर थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले शनिबार उक्त बीउ नियन्त्रणमा लिएको हो।

भन्सार छलेर तस्करी गर्न लागिएको अन्दाजी ५ लाख रुपैयाँ बराबरको १९ बोरा (५७० किलोग्राम) फर्सीको बीउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद बीउलाई आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ।