समाचार

चोरीको मोटरसाइकलसहित भारतमा नेपाली नागरिक पक्राउ

पर्सा, २० भदौ । चोरीको मोटरसाइकलसहित एक नेपाली नागरिक भारतको बिहारस्थित मोतिहारी जिल्लाबाट पक्राउ परेका छन्।

 

नेपाल–भारत सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँचका क्रममा झरोखर थानाको प्रहरीले शुक्रबार छितरौली गाउँनजिकैबाट रौतहटको गुजरा नगरपालिका–१, बलुवाका २५ वर्षीय शेख कलीमुल्लाहलाई नियन्त्रणमा लिएको हो।

 

भारतीय प्रहरीका अनुसार जाँचका क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गर्दा दुईवटा फरक–फरक भेटिएको थियो। थप विवरण अभिलेख (रेकर्ड) सँग भिडाइ हेर्दा उक्त मोटरसाइकल चोरीको भएको पुष्टि भएको हो।

 

उक्त मोटरसाइकल मुजफ्फरपुरको सदर थानामा काण्ड नम्बर ७९१/२१ अन्तर्गत चोरीसम्बन्धी मुद्दा दर्ता भई खोजी सूचीमा रहेको भारतीय प्रहरीले जनाएको छ। सवारीसाधनको सत्यता पुष्टि भएसँगै कलीमुल्लाहलाई पक्राउ गरिएको हो।

 

सीमा क्षेत्रमा सवारीसाधनको नम्बर प्लेट र चेसिस नम्बर परिवर्तन गरी चोरीका मोटरसाइकल ओसारपसार हुने गरेको आशङ्काबीच भारतीय प्रहरीले यस पक्राउलाई निगरानीको प्रतिफल भनेको छ। पक्राउ परेका कलीमुल्लाहको चोरीमा संलग्नता तथा उक्त मोटरसाइकल उनीसम्म कसरी पुग्यो भन्ने विषयमा भारतीय प्रहरीले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button