Blog

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, यस्ता छन् तीन मुख्य कार्यसूची

काठमाडौं, १७ भदौ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा प्रस्तुत गर्न तीन वटा मुख्य कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

त्यसैगरी सन्धिसम्बन्धी कार्यअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष टेबल गर्नेछन्।

अर्को कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारबाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यक्रम रहेको छ।

रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजेका लागि बैठक आह्वान गरेका हुन्।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय 'घन्टीघर' मा बस्ने बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक रणनीति तथा भावी कार्ययोजनाका विषयमा छलफल हुने बताइएको छ।

आजको मौसम: देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १८ भदाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने देशका बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कोशी प्रदेशको हिमाली भू-भाग एवम् लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहत कार्यमा असर पर्न सक्ने भएकाले महाशाखाको पछिल्लो सूचनामा अद्यावधिक रहन सबैमा आग्रह गरिएको छ।

आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार

आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार, ई.सं. २०२६ सेप्टेम्बर ०३, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको सप्तमी तिथि, कृत्तिका नक्षत्र, मेष राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, व्याघात योग, भद्रा करण। आज अमुक्तभरण सप्तमी व्रत तथा गौरासप्तमी। नेपालमा सूर्योदय बिहान ५:४४ बजे र सूर्यास्त साँझ ६:२१ बजे हुनेछ।

 

आज बगलामुखी भगवतीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला, यसले शुभ फल प्राप्त हुनेछ। बगलामुखीको स्मरण र ध्यान गर्नाले बुद्धि र मन सत्कर्ममा लाग्नेछ। हरेक जीवजन्तु र प्रकृतिप्रति प्रेमभाव राखेर व्यवहार गर्नाले माता बगलामुखी प्रसन्न हुनुहुनेछ। माताको कृपाले शत्रुमाथि विजय प्राप्त हुने तथा रोकिएका काम र धन प्राप्त हुने शास्त्रमा उल्लेख छ।

 

आज कुनै शुभ वा महत्त्वपूर्ण कार्य गर्नुपरेमा बिहान ०५:४३ बजेदेखि ०७:१८ बजेसम्म वा दिउँसो १२:०२ बजेदेखि १५:१२ बजेसम्मको समय अत्यन्त शुभ छ। यो समय आजको दिनफलमा आधारित छ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक कारोबार गर्दा झमेला हुने योग रहेकाले सावधान रहनुहोला। स्वास्थ्य अनुकूल रहनेछ। दिउँसो १ बजेदेखि ३:३० बजेसम्मको समय शुभ रहनेछ। आज पितृ र गुरुको सम्मान गर्नुहोला, शुभ हुनेछ।

शुभ रङ: खैरो | शुभ अङ्क: ७

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): निर्माणसम्बन्धी कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। मनोबल उच्च रहनेछ। विद्या र बुद्धिको सही प्रयोग होला। आज सेतो वस्तुको प्रयोग गर्नुहोला, शुभ हुनेछ। 

शुभ रङ: हल्का रातो | शुभ अङ्क: १

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): अनावश्यक विवाद हुने योग छ, बोल्दा सावधान रहनुहोला। आर्थिक लाभ हुनेछ भने सन्तानको सुख प्रशस्त पाइनेछ। आज विवाद वा झगडा भएको ठाउँमा नबस्नुहोला।

शुभ रङ: बैजनी | शुभ अङ्क: १२

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक तथा सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ। छोटो दूरीको यात्राको योग छ। आमाबुवाबाट सुख प्राप्त हुनेछ। आज बिहान केराको बोटमा भगवान् विष्णुको स्मरण गर्दै दीप बाल्नुहोला।

शुभ रङ: हरियो | शुभ अङ्क: ९

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्य प्रबल देखिन्छ; रोकिएका सम्पूर्ण कार्यहरू बिस्तारै बन्दै जानेछन्। साँझको समयमा आर्थिक कारोबार नगर्नुहोला। आज चामलमा बेसार मिसाएर दान गर्दा शुभ फल प्राप्त हुनेछ।

शुभ रङ: हल्का निलो | शुभ अङ्क: १७

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमसम्बन्धमा विवाद हुन सक्छ। आर्थिक अवस्थाले केही चिन्तित तुल्याउला र मन भारी हुनेछ। धार्मिक कार्यमा मन जानेछ। आज व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोला।

 

शुभ रङ: पहेँलो | शुभ अङ्क: ३

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कामको दबाब बढ्नेछ। नयाँ परिकार खान पाइने तथा नयाँ कपडाको लाभ मिल्नेछ। दाँत, नङ र कपालसम्बन्धी सामान्य समस्या देखिएला। भगवान् विष्णुलाई सेतो फूल चढाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: हल्का कालो | शुभ अङ्क: ८

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मन प्रसन्न रहनेछ। बिहान ७ बजेदेखि ११ बजेसम्मको समय विशेष शुभ छ। दिउँसो मानसिक तनाव हुने योग रहेकाले कारोबार बिग्रन सक्छ, सजग रहनुहोला। कर्ममा धैर्य राख्नु नै हितकर हुनेछ।

 

शुभ रङ: निलो | शुभ अङ्क: ४

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नजिकको मित्रबाट धोका हुन सक्छ। वस्तुको खरिद-बिक्री हुनेछ। पशुपालन तथा कृषिजन्य वस्तुबाट लाभ मिल्नेछ। आज हरेक विषयमा सन्तुलित निर्णय लिनुहोला।

शुभ रङ: गाढा पहेँलो | शुभ अङ्क: ११

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बिहानैदेखि शुभ समाचार प्राप्त हुनेछन् र मन प्रसन्न रहनेछ। बिग्रिएका सम्बन्धहरूमा सुधार आउनेछ। प्रेममा मिलनको योग छ। आज आफ्ना इष्टदेवलाई दही चढाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: कालो | शुभ अङ्क: ५

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): शरीर दुख्ने र शनिको प्रभावले कार्यहरूमा झमेला आउनेछ। प्रेम सम्बन्ध सफल हुनेछ भने पारिवारिक सुख स्थिर रहनेछ। दाम्पत्य सुखमा केही कमी आउन सक्छ। आज श्रीमहाकालीको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: हल्का निलो | शुभ अङ्क: ३

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पेटसम्बन्धी समस्या आउन सक्छ। सन्तान पक्षबाट झमेला र घरायसी विवाद हुने योग छ। आर्थिक पक्षमा भने सुधार आउनेछ। आज शुद्ध खानपानमा ध्यान दिनुहोला।

शुभ रङ: पहेँलो | शुभ अङ्क: १४

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)

डायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न।

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई सरकारले संसदमा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सहयोगको विवरणमा नसमेटेको भन्दै कडा प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा बाढीपीडितका लागि विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोग र सहयोग रकम सार्वजनिक गरेपछि खत्रीले सरकारको ध्यान डायस्पोराबाट प्राप्त सहयोगतर्फ समेत खिचेका हुन् ।

विपद्का बेला सरकारले विदेशमा रहेका नेपाली तथा एनआरएनएलाई सहयोगका लागि आह्वान गरेको, त्यसपछि डायस्पोराबाट सहयोग जुटाएर नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिएको अवस्थामा संसदमा प्रस्तुत गरिएको सहयोग विवरणमा उनीहरूको योगदान किन नदेखाइएको हो भन्ने खत्रीको प्रश्न छ ।

उनले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै संकटका बेला ‘देशका लागि सहयोग गर्नुस्’ भनेर आह्वान गर्ने, तर नेपाली डायस्पोराले सहयोग गरिसकेपछि राज्यको आधिकारिक अभिलेख र सार्वजनिक सम्बोधनमा उनीहरूको योगदान नै नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।

‘नेपाललाई संकट पर्दा विदेशमा रहेका नेपालीलाई देशका लागि सहयोग गर्नुस् भन्ने, तर उनीहरूले सहयोग गरिसकेपछि राज्यको आधिकारिक अभिलेख र सार्वजनिक सम्बोधनमा उनीहरूको योगदान नै नदेखिने हो भने यसले करिब ८० लाखभन्दा बढी नेपाली डायस्पोरालाई राज्यले कसरी हेरेको छ भन्ने गम्भीर प्रश्न उठाउँछ,’ खत्रीले भनेका छन् ।

खत्रीले डायस्पोराको योगदानलाई केवल आर्थिक सहयोगको रूपमा सीमित गरेर हेर्न नहुने बताएका छन् । उनका अनुसार विदेशमा रहेका नेपालीसँग आर्थिक स्रोतसँगै ज्ञान, सीप, प्रविधि, लगानी, उद्यमशीलता र विश्वव्यापी सञ्जाल रहेको छ ।

‘एनआरएनए केवल पैसा पठाउने संस्था होइन—यो नेपालको मानव पूँजी, ज्ञान, सीप, लगानी, प्रविधि र अन्तर्राष्ट्रिय नेटवर्क बोकेको नेपाली शक्ति हो,’ खत्रीको भनाइ छ ।

उनले सरकारसँग डायस्पोराबाट प्राप्त सहयोगको छुट्टै, स्पष्ट र पारदर्शी विवरण सार्वजनिक गर्न माग गरेका छन् । साथै, विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनादेखि नेपालको दीर्घकालीन आर्थिक पुनर्निर्माणसम्म एनआरएनए र डायस्पोरालाई औपचारिक साझेदारका रूपमा मान्यता दिनुपर्ने उनको माग छ ।

खत्रीका अनुसार विदेशमा रहेका नेपालीलाई आवश्यकता पर्दा सहयोगको स्रोतका रूपमा सम्झिने तर उनीहरूको योगदानलाई राज्यको औपचारिक प्रणालीमा अभिलेख नगर्ने प्रवृत्तिले सरकार र डायस्पोराबीचको सम्बन्धमा प्रश्न खडा गर्छ ।

विभिन्न मुलुकमा रहेका नेपाली समुदायले प्राकृतिक विपद्का बेला नेपालमा राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा अन्य सहयोग जुटाउँदै आएका छन् । आफ्नै श्रम र कमाइबाट रकम संकलन गरेर मातृभूमिमा पठाउने नेपालीको योगदानलाई सरकारले पारदर्शी रूपमा अभिलेख राख्नुपर्ने खत्रीको जोड छ ।

उनले संकटका बेला मात्रै डायस्पोरालाई सम्झिने परम्पराभन्दा माथि उठेर राज्यले विदेशमा रहेका नेपालीलाई नेपालको विकास साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन् । नेपालको आर्थिक पुनर्निर्माण, लगानी विस्तार, प्रविधि हस्तान्तरण, सीप विकास र रोजगारी सिर्जनामा डायस्पोराको भूमिका महत्वपूर्ण हुन सक्ने उनको धारणा छ ।

खत्रीले सरकारसमक्ष दुई स्पष्ट माग अघि सारेका छन्—डायस्पोराबाट प्राप्त सहयोगको छुट्टै पारदर्शी विवरण सार्वजनिक गर्ने र एनआरएनए तथा डायस्पोरालाई विपद् व्यवस्थापनदेखि आर्थिक पुनर्निर्माणसम्म औपचारिक साझेदार बनाउने।

संसदमा मित्रराष्ट्रबाट प्राप्त सहयोगको विवरण सार्वजनिक भइरहँदा विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगबारे मौनता साधिएको विषयले अहिले प्रश्न उठाएको छ । खत्रीको भनाइमा यो रकमको मात्र विषय होइन, देश संकटमा पर्दा सीमापारिबाट साथ दिने नेपालीप्रति राज्यको सम्मान, पारदर्शिता र दृष्टिकोणको प्रश्न हो।

‘सहयोग माग्दा नेपाली, सहयोग गरेपछि अदृश्य’ हुने अवस्था अन्त्य गर्दै डायस्पोराको योगदानलाई राज्यको अभिलेख र नीतिमा स्पष्ट स्थान दिनुपर्ने खत्रीको माग छ।

रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको उद्धारदेखि राहतसम्म मानवीय सक्रियता।

काठमाडौं । रसुवा–नुवाकोट तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भीमसेन थापा उद्धार तथा राहत अभियानमा प्रत्यक्ष रूपमा सक्रिय भएका छन्।

बाढीले प्रभावित क्षेत्रमा आफैं पुगेर थापाले उद्धार कार्यमा सहयोग गर्नुका साथै विपद्मा परेका परिवारलाई व्यक्तिगत पहलमा राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराएका छन्। उनले एनआरएनएको संस्थागत पहलमार्फत समेत प्रभावित परिवारसम्म राहत पुर्‍याउन समन्वय र सहयोग परिचालनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

पोर्चुगलमा व्यवसाय गर्दै आएका थापा सामाजिक सेवामा समेत सक्रिय व्यक्तिका रूपमा चिनिन्छन्। विदेशमा रहे पनि नेपालमा विपद् पर्दा प्रवासी नेपालीले आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने मान्यता राख्दै उनले यसपटक प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्रमा पुगेर मानवीय सेवामा सहभागिता जनाएका हुन्।

बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै थापाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले प्रभावित परिवारका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।

‘विपद्मा एकता, पीडामा साथ र मानवतामा साझा जिम्मेवारी’

थापाले नेपालमा रहेका नेपालीसँगै विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई विपद्को यस घडीमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।

उनका अनुसार विपद् व्यवस्थापन सरकारको मात्रै जिम्मेवारी नभई समाजका सबै पक्षको साझा दायित्व हो। गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, व्यवसायी, युवा तथा सामाजिक अभियन्ताले सरकारका उद्धार तथा राहत प्रयासमा हातेमालो गर्नुपर्ने उनको भनाइ छ।

“विपद्मा एकता, पीडामा साथ र मानवतामा हाम्रो साझा जिम्मेवारी हो।”

थापाले प्रभावित परिवारको पीडामा सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

एनआरएनए आईसीसीको युवा नेतृत्वमा रहेका थापाले संस्थागत पहलसँगै व्यक्तिगत रूपमा समेत राहत तथा उद्धार कार्यमा सहभागिता जनाउँदै आएका छन्। रसुवा–नुवाकोट तथा भोटेकोशी क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर उद्धार र राहतमा खटिनुले उनको सामाजिक सक्रियतालाई थप उजागर गरेको छ।

राहतपछि पुनःस्थापनाको चुनौती

बाढीको तत्कालीन जोखिम कम भए पनि प्रभावित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दीर्घकालीन चुनौती बन्ने देखिएको छ। विस्थापित परिवारको आवास, खाद्यान्न, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको व्यवस्थापनका लागि निरन्तर सहयोग आवश्यक पर्ने थापाले बताएका छन्।

उनले सरकार, निजी क्षेत्र, गैरसरकारी तथा सामाजिक संघसंस्था र विश्वभरका गैरआवासीय नेपाली समुदायबीच प्रभावकारी सहकार्य हुन सकेमा बाढीपीडितलाई राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।

बाढीबाट प्रभावित नागरिकको पीडामा तत्काल राहत पुर्‍याउनेदेखि पुनःस्थापनासम्मको अभियानमा प्रवासी नेपाली समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै थापाले विश्वभर रहेका नेपालीलाई मानवीय सहयोगका लागि एकजुट हुन पुनः अपिल गरेका छन्।

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

काठमाडौं, १६ भदौ । बाढी र पहिरोका कारण बागमती प्रदेशका ललितपुर, धादिङ, रसुवा, नुवाकोट र काभ्रे गरी पाँच जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार पहिरो र बाढीका कारण ती जिल्लाका विभिन्न सडक खण्डमा यातायात सेवा पूर्ण तथा आंशिक रूपमा ठप्प भएको छ।

ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडामा पहिरो खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने देशकै मुख्य ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र परेवा भीरमा गएको पहिरोले सडक बन्द गराएको छ। 

यस्तै, रसुवा जिल्लामा बाढीका कारण पासाङ ल्हामु सडक खण्डको बेत्रावती–सिमटार तथा त्रिशुली–मैलुङ–स्याफ्रुबेशी खण्डको खाल्टेमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जोखिम व्यवस्थापनका लागि काभ्रे र नुवाकोटमा भने रातको समयमा सवारी सञ्चालनमा निषेध गरिएको छ। काभ्रेस्थित राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र नुवाकोटको टोखा–छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ।

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादह, १६ भदौ । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो ।

स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका तथा ट्रफी सार्वजनिक गरेको छ । ‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टोलीको सहभागिता रहने क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष उज्वल दाहालले महिला खेलाडीलाई खेलकुदमा अघि बढाउन तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक युवराज खड्काले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्टलगायत विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गौरादहमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितालाई स्थानीय महिला खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गौरादहमा महिला फुटबलको विकासको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ । प्रतियोगिताले महिला फुटबलको विकाससँगै खेलकुदमार्फत लागूऔषधविरुद्धको अभियानलाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको भनाई छ ।

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

सुभाष कायस्थ 

जनकपुरधाम, १६ भदौ । विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका छन् । पटक पटक रैली र विरोध प्रदर्शनको आन्दोलनले सरकारले कुनै चासो नलिएपछि अन्ततः हरवा चरवाहरु धर्नामा बसेका हुन । 

हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न दुई बुँदे माग राख्दै सुरु गरिएको यस धर्नामा मधेसका आठै जिल्लाका हरवा चरवा प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

संघर्ष समितिले हरवा–चरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन र लामो समयदेखि भूमिहीन हरवा चरवा परिवारको पहिचान गरी दिगो पुनःस्थापना सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना तत्काल स्वीकृत गरी कार्यान्वयन सहितका दुई बुँदे माग अघि सारेका हुन । 

सोमवार मन्त्री पटेलले धर्नास्थलमा पुगी आन्दोलनकारीहरुलाई मुख्यमन्त्रीज्यूसँग कुरा भइसकेको छ । तपाईहरु स्थगन गर्नु भनेका थिए । तर उनीहरुले जबसम्म माग सम्बोधन हुने आधार देखिदैन तबसम्म धर्ना जारी नै रहने चेतावनी दिदै धर्ना जारी राखेका छन् । 

संघर्ष समितिका संयोजक श्रीप्रसाद सादाले भने, ‘हामी एक सातादेखि धर्नामा बसेका छौँ, तर सरकारले चासो लिएन । आज प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलज्यू आउनु भएको थियो । हाम्रो माग सम्बोधन गर्नुको सट्टा हामी वार्तामा बसौं भनी धर्ना स्थगन गर्न भनेका छन् । जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, तबसम्म धर्ना जारी नै रहनेछ ।’

गत ७ दिनअघि हरवा चरवा संघर्ष समितिले विशाल विरोध रैली प्रदर्शन गर्दै मधेश भवन घेराउ गरेका थिए । उनीहरुले सो प्रदर्शनपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई आफ्ना माग बारे विगतमा गरिएका प्रतिबद्धतासहितको ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । ध्यानाकर्षण पत्रप्रति मुख्यमन्त्री यादवले कुनै चासो नलिएपछि उनीहरु धर्नामा बसेका थिए । 

हरवाचरवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको उनीहरुको गुनासो छ । संघर्ष समितिका सदस्य लागेन्द्र सादाले कानुनी रूपमा हामीलाई मुक्ति घोषणा गरिएपनि अझै पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, आवास तथा आर्थिक पुनःस्थापनाबाट वञ्चित रहेको बताए । 

हरवाचरवाको वास्तविक पहिचान र प्रमाणीकरणबिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । 
हरवा चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डलले ‘हरवाचरवा लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण निर्देशिका, २०८०’ तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्नुपर्ने, तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलाई तीव्रता दिनुपर्ने र भूमिहीन हरवाचरवालाई भूमि वितरण र पुनःस्थापनाको प्रक्रिया कानुनी र प्रभावकारी रूपमा अघि बढाउन माग वर्षौदेखि आफूहरु गर्दै सरकारले चासो नलिएको भने । 

हुनत प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायलाई पूर्ण रूपमा मुक्त गर्दै भूमिमाथिको अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनःस्थापना तथा कृषि व्यवसायमा सम्मानजनक पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता गरेका छन । तर हरवाचरवाको वास्तविक लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण नहुँदा कार्यान्वयनमा समस्या आउने अध्यक्ष मण्डलको भनाई छ । 

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

सुभाष कायस्थ 

जनकपुरधाम, १६ भदौ । रसुवा जिल्लामा आएको बाढीमा परेका पिडीतहरुको उद्धार, राहत तथा पुनस्थपनाका लागि भनी ठाउँ ठाउँमा विभिन्न संघ संस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ । 

बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि भन्दै व्यक्तिगत, संघ–संस्था वा समूहले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी रोक लगाएको हो । राहतको संकलनको नाममा दुरुपयोग हुन सक्ने भएकाले यसलाई नियन्त्रण गर्ने उद्देश्यले रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै यही भदौ १० गते रसुवा जिल्लास्थित भेटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको जानकारी प्राप्त भएको जनाएको छ ।

प्रशासनले बाढीपीडितका नाममा राहत सामग्री संकलन गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । साथै बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूसँग उपलब्ध गराउन सक्ने राहत सामग्रीको विवरण नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय सिरहामा मार्फत वा जानकारी गराई गर्न आग्रह गरिएको छ ।

प्रशासनका अनुसार राहत वितरणलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक समन्वयमार्फत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । 
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बाढीपीडितका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रशासनसँग समन्वय गरेर मात्रै राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

प्रशासनको सूचनाले बाढीपीडितको नाममा अनधिकृत रूपमा राहत संकलन हुने सम्भावना रोक्नुका साथै वास्तविक पीडितसम्म राहत सामग्री प्रभावकारी रूपमा पु¥याउने उद्देश्य राखेको देखिन्छ ।