समाचार

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

 सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिना मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत थिए।

आयोगका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउको पुष्टि गर्दै अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज बनाइदिने नाममा रकम मागिएको आरोपमा कर्मचारी पक्राउ परेपछि मालपोत कार्यालयको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ। पक्राउ परेका तिमिल्सिनामाथि थप कानुनी अनुसन्धान तथा प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button