सबिर आलम
बारा , ११ मँसिर
बारा जिल्लाको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्व बोकेको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित पलकिया माई क्षेत्रमा पुरातात्त्विक उत्खनन कार्य जारी रहेको छ ।
नेपाल सरकारको पुरातत्त्व विभाग, काठमाडौँबाट आएको तीन सदस्यीय टोलीले मङ्सिर ७ गते शुक्रवारदेखि औपचारिक रूपमा उत्खनन सुरु गरेको छन्। उत्खनन कार्य आगामी २१ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
उत्खननले पुरातात्त्विक संरचनाहरूको पहिचान र अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पुरातत्त्व शाखा प्रमुख भास्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीमा पुरातत्त्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्त्व अधिकृत हरि प्रसाद भुसाल, र छविकार नर्मदा श्रेष्ठ सहभागी छन् ।
स्थानीय पुरातात्त्विक विज्ञ भरत साहका अनुसार, पलकिया माई परिसरमा पुराना इट्टाले छापेको आँगन भेटिएको छ ।
त्यस्तै त्यस क्षेत्रमा रहेको खाल्डोको उत्तर तर्फ रहेको जस्तै दुई वटा स्तम्भजस्तो देखिने ढुङ्गे संरचना पनि सतहमा देखा परेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना इट्टा र तिनका टुक्रा, दियो, भाँडाकुँडा, प्रस्तर मालाको दाना र वास्तुका थुप्रै अंशहरू भेटिएका छन् । मन्दिरमा प्रयोग हुने अमलकको टुक्रा भेटिएको हुँदा यस क्षेत्रमा मन्दिर हुन सक्ने प्रारम्भिक सङ्केत फेला परेको साहले बताएका छन् ।
जमिनमुनि रहेका पुरातात्त्विक संरचनाहरूको प्रकृति र इतिहास उजागर गर्न उत्खनन थालिएको साहले जानकारी दिएका छन्। जिओफिजिक्स सर्वेक्षणले पलकिया माई क्षेत्रलाई महत्त्वपूर्ण साइटको रूपमा पहिचान गरेको पुरातत्त्व अधिकृत हरि प्रसाद भुसालले बताएका छन् ।
सिम्रौनगढको इतिहास १२औँ शताब्दीमा राजा हरिसिंह देवको शासनकालसँग सम्बन्धित छ । यो क्षेत्रले धार्मिक, सांस्कृतिक, र ऐतिहासिक दृष्टिकोणले विशिष्ट स्थान ओगटेको छ । पलकिया माई क्षेत्र धार्मिक आस्थासँगै पुरातत्त्व अध्ययनका लागि पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । साथै सिम्रौनगढ प्राचीन कालमा राजधानी रहेको समयमा दिल्लीक८ बादसाह ग्यासुदिन तुगलकले सन १३२७मा आक्रमण गरेको जानकारी स्थानीय तबसी मियाले दिएका छन्। मियाको अनुसार पलकिया माईबाट नै तलेजु भवानीको मुर्ती राजा सेवई सिंहले काठमाडौ लगेको थिए।
उत्खनन कार्यले सिम्रौनगढको पुरातन महत्त्व पुष्टि गर्दै यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसको माध्यमबाट क्षेत्रको सांस्कृतिक धरोहर उजागर हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।