वीरगन्ज । होलीको दिन युवतीलाई दूर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीका छोरासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुसँगै नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अन्सारीका छोरा सहनवाज अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर, उनलाई भने पक्राउ गरिएको राति नै छाडिएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले आधा दर्जनभन्दा बढी युवकहरुलाई पक्राउ गरेको थियो । त्यसलगत्तै नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदिनका छोरालाई भने विशेष दबाब दिइएपछि छाडिएको समाचार स्रोतको दाबी छ ।
स्रोतका अनुसार घन्टाघर र बसपार्कको बीचमा बुधबार होली खेल्न निस्केका उनीहरुले एक युवतीलाई छेडखानी गर्दा बसपार्कमा खटेको प्रहरीले बसरुद्दिन अन्सारीका छोरासहित ६ जनाभन्दा बढी युवाहरूको समूहलाई सम्झाएको थियो । तर, उनीहरु उल्टै प्रहरीमाथि जाइलागेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनाको बारे बुझ्न खोज्दा प्रहरीले केही जानकारी दिन चाहेन। पटक पटक पर्सा प्रहरीको पदाधिकारीहरुलाई फोन गर्दा उनीहरु सम्पर्कमा आउने चाहेनन् । श्रोत अनुसार प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीका छोरा जहांगिर अन्सारी (वर्ष २५), आदित्य गिरि (वर्ष २४), फिरोज अन्सारी (वर्ष ३२), अल्फाज अन्सारी (वर्ष ३१), तारीक अन्सारी (वर्ष २७) र आशिष साह (वर्ष २४) लाई प्रहरीले हिरासतमा राखेर कारबाही अगाडि बढाएको छ ।
पक्राउ परेका युवहरुलाई नारायणी अस्पतालमा बुधबार मापसे परीक्षण गराउदा सबै युवाहरुले अत्यधिक मात्रामा मापसे गरेको अस्पताल स्रोतले जनाएको छ । साभार: news24nepal.tv