मधेससमाचारसमाज

मधेस प्रदेशका कृषि प्राविधिकलाई गहुँको रोग र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

मधेस प्रदेश धनुषा : राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा मधेस प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूलाई गहुँ बालीमा लाग्ने रोगहरूको पहिचान, व्यवस्थापन तथा तिनको जोखिमबारे पूर्वसूचना सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। तालिम मिति २०८२ असोज ३१ गते मत्स्य, मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रमा आयोजित गरिएको हो।

कार्यक्रममा राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रका प्रमुख तथा प्रशिक्षक रोशन बस्नेतले गहुँको परिचय, नयाँ जातहरूको विकास, बीउ उत्पादन प्रविधि तथा केन्द्रमार्फत मिनीकिट वितरणको प्रक्रिया बारे सहभागीहरूलाई विस्तृत जानकारी गराए। उनले गहुँ बालीमा उन्नत प्रविधि अपनाउन स्थानीय तहका प्राविधिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

बरिष्ठ वैज्ञानिक ध्रुवबहादुर थापाले गहुँमा लाग्ने प्रमुख रोगहरू — सिन्दुरे रोग, कालो सिन्दुरे रोग तथा रोग अवरोधक जातहरूको विकासबारे व्याख्या गर्दै रोग पहिचान र नियन्त्रणका उपायबारे प्रशिक्षण प्रदान गरे। उनले बिरुवा क्रसिङमार्फत गुणस्तरीय बीउ उत्पादन गर्ने विधि पनि प्रस्तुत गरे।

राष्ट्रिय कृषि मौसम अनुसन्धान केन्द्रका मौसम विज्ञ रामेश्वर रिमालले जलवायु परिवर्तनको प्रभाव, गहुँ बालीको जोखिम न्यूनीकरण तथा कृषकलाई समयमै पूर्वसूचना उपलब्ध गराउने विषयमा सहभागीहरूसँग छलफल गरे।

त्यसैगरी, राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमका धान संयोजक डा. मथुरा यादवले धान/गहुँ जातीय विकास, उत्पादन लागत घटाउने उपाय, बिउँका प्रकार तथा बालीको पोस्ट–हार्भेस्ट र भण्डारण प्रविधिबारे आफ्नो प्रस्तुति दिए।

कार्यक्रमको समापन राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका बरिष्ठ वैज्ञानिक सुरज वैधको अध्यक्षतामा गरियो। उनले गहुँ बालीमा लाग्ने मुख्य रोगहरूबारे प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै तालिमका जानकारी कृषकस्तरमा पुर्‍याउन आग्रह गरे। तालिम सम्पन्न भएको जानकारी केन्द्रका कर्मचारी मधुसूदन भट्टराईले दिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button