अन्तर्राष्ट्रिय बजारमा तेल, ग्यास, मेसिनरी तथा कच्चा पदार्थको मूल्यवृद्धिले बंगलादेशसँगको विदेशी मुद्राको सञ्चितिमा ठूलो दबाब परेको छ। गत वर्ष विदेशी मुद्रा सञ्चिति ४५ दशमलव ५ अर्ब डलर रहेकोमा अहिले (जुलाई २० सम्ममा) यो झरेर ३७ अर्ब ६७ करोड डलरमा पुगेको छ ।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि ंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई ४० करोड डलरभन्दा बढी ऋण उपलब्ध गराउन अनुरोध गरेको छ ।
आर्थिक जोखिम बढेपछि बाध्यतावश आईएमएफसँग सम्पर्क गरेको विश्लेषकहरू बताउँछन् । बंगलादेश सरकारले गत आइतबार आधिकारिक रूपमा आईएमएफलाई ऋणको लागि पत्र पठाएको अर्थ मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् । तर, बंगलादेशका कुनै अधिकारीले पनि आईएमएफसँग कति ऋण मागेको भन्ने आधिकारिक रूपमा गरेका छैनन् । उनीहरु हाल बंगलादेशसँग रहेको विदेशी मुद्रा सञ्चिति ६ महिनाभन्दा बढीको आयातका लागि पर्याप्त रहेको बताउँछन्।
बंगलादेशको अंग्रेजी पत्रिका डेली स्टारले भने अर्थ मन्त्रालयका उसको स्रोतलाई उद्धृत गर्दै बंगलादेशले ४.५ अर्ब डलर ऋण मागेको लेखेको छ । बंगलादेश सरकारले आईएमएफलाई पठाएको पत्रमा गत वर्षको तुलनामा यस अवधिमा ३९ प्रतिशतले आयात बढेको तर मुद्रा सञ्चिति घटिरहेको उल्लेख गरेको छ ।
बंगलादेशको एक अध्ययन संस्थान (सानेम) का कार्यकारी निर्देशक सलिम रेहानले बीबीसी बंग्लालाई बताए अनुसार बंगलादेशले अहिले एक दशकयता सबैभन्दा गम्भिर विदेशी मुद्रामाथिको दबाब झेलिरहेको छ । पछिल्लो समय रेमिट्यान्स र निर्यात दुवै केही न केही बढेको छ । तर निर्यात दर राम्रो भएपनि आयात वृद्धि अत्यधिक रहेकाले भुक्तानी सन्तुलनमा दबाब परेको छ।
दक्षिण एसियाका अन्य दुई मुलुक श्रीलंका र पाकिस्तानले पनि आर्थिक कठिनाइका कारण आईएमएफको ऋणको अनुरोध गरेका छन् । बंगलादेशले आईएमएफका अतिरिक्त विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) र जापानको सहायता संस्था जाइकासँग पनि बजेट सहयोगको प्रक्रिया सुरु गरेको छ ।
बंगलादेशले स्थापनाको अर्को वर्ष (सन् १९७२) मा अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यता लिएको थियो । उसले यस संस्थाबाट यसअघि पनि धेरैपटक ऋण लिएको छ, तर पनि उसले कहिल्यै १ अर्ब डलरभन्दा बढि सहयोग लिएको छैन । तर, पहिलो पटक यती ठुलो परिमाणमा ऋण मागेपछि बंगलादेशको अर्थतन्त्रका विषयमा ब्यापक चर्चा भईरहेको छ।