बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

जनकपुरधाम, ९ असोज । भारी वर्षाका कारण हुने बाढी तथा डुबानको दृष्टिगत गर्दै मधेश प्रदेश प्रहरीले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिँदै जनशक्ति तथा उद्धार र राहत टोलीलाई स्ट्याण्डबाई अवस्थामा राखिएको जनाएको छ ।
प्रदेशका आठवटै जिल्लामा सम्भावित विपद्लाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई आवश्यक परेका बेला तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा स्ट्याण्डबाई राखिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिइएको जनाएको छ ।
न्यूज कारखानासँग कुरा गर्दै उनले बाढी, डुबान वा अन्य विपद् आइपरेमा ढिलाइ नगरी उद्धार तथा राहतमा परिचालन हुन सक्ने गरी सुरक्षाकर्मी र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन् ।
उनका अनुसार नदी तथा खोलाको बहाव बढ्न सक्ने क्षेत्रसँगै राजमार्गमा निर्माण भइरहेका पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा समेत निगरानी बढाइएको छ भने प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई पनि विपद् प्रतिकार्य तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले समेत सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएको बताइएको छ ।
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण र उद्धार कार्य प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबीच समन्वय थप मजबुत बनाउने निर्णय बैठकबाट गरिएको गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जानकारी दिएका छन् ।
यी क्षेत्रहरु बढी जोखिममा
मधेशका सबै जिल्लामा बाढी तथा डुबानको जोखिम रहेपनि नदी, खोलाको बहाव र विगतमा भएका क्षतिका आधारमा विभिन्न क्षेत्रलाई बढी संवेदनशील श्रेणीमा राखिएको छ ।
मधेश प्रहरीका अनुसार रौतहटमा बागमती र लालबकैया नदीको बाढीका कारण गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती बढी प्रभावित हुन सक्ने सूचीमा राखिएको छ ।
धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्रमा जोखिम बढ्न सक्ने सम्भावना छ ।
यस्तै सिरहामा कमला, बलान तथा स्थानीय खोलाबाट आउने बाढीका कारण सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुन सक्ने जनाइएको छ । सप्तरीको सप्तकोशीसहित खाँडो, महुली, जिता र बलान नदी तथा खोलाको बहाव बढ्दा हनुमाननगर कंकालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका क्षेत्र जोखिम क्षेत्रको रुपमा राखिएको छ ।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र प्रभावित हुन सक्ने प्रहरीको भनाई छ । महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीमा आउने बाढी तथा कटानका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।
बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोला तथा नदीमा अचानक आउने बाढी र कटानलाई मुख्य जोखिमका रूपमा लिइएको छ भने बाराकै पसाहा, दुधौरा, बालगंगा र तिलावे नदीको आकस्मिक बहावले कलैया तथा जीतपुरसिमरा क्षेत्रका तल्लो भूभागसहित परवानीपुर र देवतालका केही बस्ती प्रभावित हुन सक्ने अनुमान रहेको प्रहरीको भनाई छ ।
पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगञ्ज र पोखरिया आसपासका क्षेत्र जोखिममा पर्न सक्ने प्रहरीले भनाई छ ।



