मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, सीसीक्यामेरा नचल्दा अनुसन्धानमा सकस

रौतहटको चन्द्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् भने प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ।
चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा बिहीबार राति सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुलेको छैन। प्रहरीले फरार मोटरसाइकलको खोजी तीव्र पारेको छ।
‘ठक्कर दिने मोटरसाइकलको पहिचान खुलेको छैन, खोजी भइरहेको छ,’ डीएसपी थापाले भने।
दुर्घटनापछि फरार मोटरसाइकलको पहिचान गर्न आसपासका सीसी क्यामेराको फुटेज उपयोगी हुन सक्ने भए पनि घटनास्थल आसपास जडान गरिएका क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयको भनाइ छ।
चन्द्रपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा जडान गरेका सीसी क्यामेरा नियमित सञ्चालनमा नआउँदा दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धान प्रभावित हुँदै आएको स्थानीयको गुनासो छ।
‘क्यामेरा चलेको भए मोटरसाइकलको नम्बर वा चालकको हुलियासम्म पत्ता लगाउन सहज हुन्थ्यो,’ एक स्थानीयले भने।
सडक दुर्घटना तथा आपराधिक गतिविधिको अनुसन्धानमा सीसीटीभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने भए पनि जडान गरिएका क्यामेरा नियमित सञ्चालन र निगरानीको अभावमा प्रभावहीन बनेको स्थानीयको आरोप छ।
प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र ठक्कर दिने मोटरसाइकल तथा चालकको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।



