
कलैया । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गर्दै नागरिकमैत्री, पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। 
सोमबार बिहान ९ः०० बजे सम्पन्न निरीक्षणका क्रममा एसपी कुँवरले कार्यालयको समग्र कार्यसम्पादन, शान्ति सुरक्षा अवस्था, अपराध अनुसन्धानको प्रगति, सेवा प्रवाह, अभिलेख व्यवस्थापन, हिरासत कक्ष, मालखाना, कार्यालयको भौतिक पूर्वाधार तथा दैनिक प्रशासनिक गतिविधिको विस्तृत अनुगमन गर्नुभएको थियो। 
उहाँले अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि प्रकारको लापरवाही नगर्न निर्देशन दिँदै प्रत्येक उजुरीलाई संवेदनशील रूपमा लिन र अनुसन्धानलाई तथ्य तथा प्रमाणमा आधारित बनाएर निष्पक्ष ढंगले अघि बढाउन प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो। 
निरीक्षणका क्रममा एसपी कुँवरले सेवाग्राहीसँग हुने व्यवहारलाई थप मर्यादित, शिष्ट र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो। प्रहरी कार्यालयमा आउने प्रत्येक नागरिकले सहज, छिटोछरितो र झन्झटरहित सेवा पाउनुपर्ने उल्लेख गर्दै सेवामुखी कार्यशैली नै नेपाल प्रहरीप्रतिको जनविश्वासको आधार भएको बताउनुभयो। 
उहाँले प्रहरी संगठनभित्र अनुशासन, इमान्दारिता, पारदर्शिता र व्यावसायिकतालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै कुनै पनि कर्मचारीले संगठनको प्रतिष्ठामा आँच पुग्ने गतिविधिमा संलग्न हुन नहुने स्पष्ट पार्नुभयो।
एसपी कुँवरले कार्यालयका अभिलेख, मुद्दा फाइल, जिन्सी तथा मालसामान व्यवस्थापनलाई व्यवस्थित राख्न, सूचना प्रविधिको प्रभावकारी उपयोग गर्न तथा कार्यालय परिसरलाई सफा, व्यवस्थित र सेवामैत्री बनाउन पनि निर्देशन दिनुभयो।
त्यसैगरी, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तह, जनप्रतिनिधि, सामाजिक अगुवा तथा नागरिक समाजसँग समन्वय बढाएर अपराध न्यूनीकरण, लागूऔषध नियन्त्रण, सडक सुरक्षा तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
निरीक्षणका क्रममा प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै उहाँले कार्यसम्पादनमा देखिएका चुनौती, आवश्यक स्रोत–साधन र समाधानका उपायबारे समेत जानकारी लिनुभएको थियो। साथै, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र कमजोरी देखिएका पक्षलाई समयमै सुधार गर्न निर्देशन दिनुभयो।जिल्ला प्रहरी कार्यालय बाराले नियमित निरीक्षण तथा अनुगमनमार्फत प्रहरी संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र जनविश्वासयोग्य बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।



