अन्तराष्ट्रियफोटो ग्यलरीमलेसिया बिशेषविचारसमाचारसमाजस्वास्थ्य

जोहरको पेकन नानसमा SSF सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न, ६० भन्दा बढी नेपाली श्रमिक लाभान्वित

ILO नेपालको MiRiDeW परियोजनाअन्तर्गत PNCC मलेसिया र NSI को संयुक्त पहल, सामाजिक सुरक्षा कोषमा आबद्ध हुन श्रमिकलाई आग्रह

जोहरबारु (मलेसिया) । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीबारे सुसूचित बनाउने उद्देश्यले जोहरबारुको पेकन नानस क्षेत्रमा सामाजिक सुरक्षा कोष (Social Security Fund–SSF) सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। International Labour Organization (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW (Migration, Rights and Decent Work) परियोजनाअन्तर्गत प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसिया र North South Initiative (NSI) को संयुक्त आयोजनामा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन PNCC जोहरका आउटरिच अफिसर सुरेन्द्र महतोले गर्नुभएको थियो भने व्यवस्थापन तथा सहजीकरण राजु तामाङ र तामाङ घेदुङ जोहर शाखाका सहसचिव रामबहादुर तामाङ (जीवन) ले गर्नुभएको थियो।

कार्यक्रममा मलेसियाका विभिन्न कम्पनीमा कार्यरत ६० भन्दा बढी नेपाली श्रमिकको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई सामाजिक सुरक्षा कोषको आवश्यकता, सदस्यता लिने प्रक्रिया, योगदानको व्यवस्था, उपलब्ध सेवा–सुविधा, भविष्यमा प्राप्त हुने सामाजिक सुरक्षा लाभ तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले यस योजनाबाट प्राप्त गर्न सक्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा भविष्यमा पेन्सन, दुर्घटना सुरक्षा, आश्रित परिवारलाई उपलब्ध हुने सुविधा तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको सम्बन्धित विषयविज्ञ तथा आयोजक प्रतिनिधिहरूले स्पष्ट जानकारी दिएका थिए।

आयोजकका अनुसार, अझै पनि ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक सामाजिक सुरक्षा कोषको महत्व र प्रक्रियाबारे पर्याप्त जानकारीबाट वञ्चित छन्। यस्ता कार्यक्रमले श्रमिकहरूलाई आफ्नो श्रमको सुरक्षा, भविष्यको आर्थिक स्थायित्व तथा सामाजिक संरक्षणका विषयमा सचेत बनाउने विश्वास लिइएको छ।

ILO नेपालको सहयोगमा सञ्चालित MiRiDeW परियोजनाले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्दै श्रमिकको अधिकार संरक्षणमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। PNCC मलेसियाले पनि मलेसियाका विभिन्न राज्यमा पुगेर नेपाली श्रमिकलाई सामाजिक सुरक्षा, श्रम अधिकार, कानुनी परामर्श तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी प्रदान गर्दै आएको जनाएको छ।

आयोजकले आगामी दिनमा पनि मलेसियाका अन्य क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बढीभन्दा बढी नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई प्रभावकारी बनाइने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button