चीनसँगको सीमामा भारतले बढायो सैनिक

अरूणाचल प्रदेशस्थित तवाङमा दुई देशका सेनाबीच झडप भएपछि भारतले सीमा क्षेत्रमा परिचालित सैनिकको संख्या हालसम्मकै उच्च बनाएको हो

120

नयाँदिल्ली — भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमा क्षेत्रमा परिचालित भारतीय सैनिकको संख्या बढाएर हालसम्मकै धेरै पुर्‍याइएको बताएका छन् ।भारतले चीन एक्लैलाई ‘सीमाको हालको यथास्थितिमा परिवर्तन ल्याउन नदिने’ विदेशमन्त्री जयशंकरको भनाइ छ ।

अरुणाचलस्थित सीमा क्षेत्र तवाङमा दुई देशका सैनिकबीच गतसाता भएको झडपपछि भारतीय विदेशमन्त्रीले सैन्य उपस्थिति बढाएको बताएका हुन् । ‘हामीले चीनसँगको सीमा क्षेत्रमा अभूतपूर्व संख्यामा भारतीय सैनिकहरू परिचालित गरेका छौं,’ जयशंकरले भनेका छन्, ‘चिनियाँ उग्रताको प्रतिवाद गर्न यो निर्णय लिएका हौं ।’

भारत र चीनका सेनाबीच गत डिसेम्बर ९ मा अरुणाचलस्थित सीमा क्षेत्रमा सैन्य झडप भएको हो । झडपमा केही भारतीय सैनिक घाइते भएका जनाइएको छ । मानवीय क्षति नभए पनि दुई देशबीच वर्षौंदेखि जारी तनाव थप चर्केको छ ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । घटनापछि चिनियाँ सेनाका वेस्टर्न थिएटर कमान्डका प्रवक्ताले भने अवैध रूपमा सीमा पार गरेका भारतीय सैनिक चिनियाँ सैनिकसामु आएपछि तनाव उत्पन्न भएको बताएका थिए । तवाङ घटनापछि चिनियाँ विदेश मन्त्रालयले झडप भएको सीमा क्षेत्र हाल शान्त रहेको र शान्ति कायम राख्ने विषयमा दुवै पक्षबीच छलफल चलिरहेको जनाएको छ ।

घटनापछि भारत र चीनबीच सीमा विवाद तनावपूर्ण छ । दुवैतर्फको सीमा क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगिएको र सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्य तथा सैन्य हतियार तथा उपकरणको संख्या थप गरिएको जनाइएको छ ।

दुई देशका सैनिकहरूबीच गत वर्षको जनवरीमा पनि भुटाननजिकैको सीमा क्षेत्रमा झडप हुँदा केही सैनिक घाइते भएका थिए । गत वर्षकै सेप्टेम्बरमा पनि भारतीय सैनिकले सीमामा गोली चलाएको चीनले आरोप लगाएको थियो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारतले हार बेहोरेको थियो । यो समाचार ईकान्तिपुरमा प्रकाशित गरिएको छ ।

लद्दाखको झडपपछि १६ चरणमा वार्ता भइसकेका छन् तर समस्या भने समाधान हुन सकेको छैन । समस्या समाधान भइरहेका बेला गत साता पुनः दुई देशका सेना आमनेसामने भएपछि घटनाले भारतको आन्तरिक राजनीतिसमेत तातेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भाजपा नेतृत्वको सरकारले घटनालाई लुकाउन खोजेको भन्दै विपक्षी दलहरूले सोमबार भारतीय संसद्का दुवै सदन अवरुद्ध पारेका छन् ।

सीमाको अवस्थाबारे संसद्मा तत्काल छलफल गर्नुपर्ने माग अस्वीकृत भएपछि प्रतिपक्षी दलहरूले संसद् बहिष्कार गरेका हुन् । विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले चीनबाट हुन सक्ने खतरालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । भारत र चीनबीचको विवादित सीमा क्षेत्रलाई एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) भनिन्छ ।

एलएसीमा सीमा विभाजन स्पष्ट नरहेका कारण दुवै देशका सैनिकबीच कतिपय अवस्थामा झडपको अवस्था उत्पन्न हुने गरेको छ । दुई देशबीचको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा क्षेत्रमा विवाद भइरहनुको मुख्य कारण पनि सिमाना प्रस्ट नहुनु नै हो ।

Leave a comment