काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन्।
बुधबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए।
उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताए। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए। उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘सभामुखको भूमिका स्पष्ट छ। तटस्थ हुनुपर्छ। देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनु पर्नेछ। सबैसँग समन्वय गरेर अघि बढ्नेछु। सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु। केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु।’
ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए। राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधि सभामा सबैभन्दा बढी उमेरको सांसद हुन्। गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार जबराले शपथग्रहण गराउनेछन्।
संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन्।