अन्तराष्ट्रिय

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिएको छ। ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ का कारण विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।

बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको डब्ल्युएचओले बताएकोे छ।

चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।

डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले भनेका छन्, ‘चीनमा आईसीयूमा निकै थोरै संख्या भनिएको छ, तर आईसीयू भरिंदै गएका छन् ।’

सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ । यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।

चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ। चीनको अवस्थाका कारण भारतले पनि सतर्कता बढाएको छ। बुधबार मात्रै भारतमा यही भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।

भारत सरकारले बुधबारदेखि नै अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ। भारतले सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको थियो।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button