क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न ८ पक्राउ

५ जना रुसी तथा ३ जना युक्रेनी र अर्मेनियाली नागरिक पक्राउ गरिएको रुसी प्रमुख सुरक्षा निकाय एफएसबीको दाबी

109

मस्को —  क्रिमियालाई रुससँग जोड्ने पक्की पुलमा गत शनिबार विस्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा रुसी प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नोमा गाभेको थियो । क्रिमियालाई जोड्नेगरी सन् २०१८ मा निर्माण सम्पन्न भई राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेको उक्त पुलबाटै रुसले आफ्ना प्रमुख व्यापारिक गतिविधि सञ्चालन गर्दै आएको थियो । तर, विस्फोटक पदार्थ राखिएको ट्रक पुलमा विस्फोट गराइएपछि रुसको व्यापारिक गतिविधिमा धक्का लागेको छ ।

यसअघि रुसी प्रमुख सुरक्षा निकाय एफएसबीले घटनाका पछाडि किभको हात रहेको आरोप लगाएको थियो । बुधबार एफएसबीले उक्त घटनामा संलग्न भएको दाबी गर्दै ५ जना रुसी तथा ३ जना युक्रेनी र अर्मेनियाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ । ‘युक्रेनी रक्षा मन्त्रालयअन्तर्गतको मुख्य गुप्तचर निर्देशनालय प्रमुख किरिलो बुडानोभको योजनामा उनका कर्मचारी र सहयोगीहरुले घटना घटाएका हुन्,’ एफएसबीले भनेको छ, ‘विस्फोटक पदार्थ प्लास्टिकको रोलमा लुकाएर युक्रेनी बन्दरगाह शहर ओडिसाबाट ल्याइएको पाइएको छ । त्यसका लागि बुल्गेरिया, जर्जियाको भूमि प्रयोग भएको छ । जर्जियाबाट लरीमा अर्मेनिया पुर्‍याई रुस भित्राइएको हो ।’

रुसी राष्ट्रपति पुटिनले घटनालाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका छन् । ‘रुसका लागि महत्त्वपूर्ण रहेको संरचनामा क्षति पुर्‍याउने उद्देश्यअनरुस घटना घटाइएको छ, जुन आतंकवादी क्रियाकलाप नै हो,’ पुटिनको प्रतिक्रिया थियो । युक्रेनी अधिकारीहरुले भने रुसी आरोप निराधार भएको बताएका छन् । ‘एफएसबी र रुसी गुप्तचर निकायका सबै दाबी बेतुकका छन्,’ युक्रेनी सेना प्रवक्ता एन्ड्री युसुभले किभमा सञ्चारकर्मीसँग बोल्दै भनेका छन्, ‘यी सबै पुटिनको शासन धान्न तयार गरिएका नक्कली संरचना हुन् । त्यसैले हामी रुसले पछिल्लो पटक गरेका कुनै पनि वक्तव्यबाजीमाथि टिप्पणी गर्दैनौं ।’

Leave a comment