भारतीय उपमहाद्वीप पछिल्लो समय सबैभन्दा चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। पाकिस्तानमा अस्थिर सरकार, श्रीलंकामा आर्थिक र राजनीतिक संकट, बंगलादेशमा वित्तिय कठिनाइ र म्यानमारमा सेनाले गरेको कू केही केही प्रमुख घटनाहरू हुन्। उक्त घटनाहरुले दक्षिण एसियाली क्षेत्रलाई अस्थिर पारेको थियो। यद्यपि, उक्त घटनाहरुबाट संलग्न राष्ट्रका लागि मात्र नभएर सिंगो विश्वका लागि केही सिकाइ भने जरुर भएको छ।
उक्त उल्लेखित घटनाहरुको छायाँमा ड्र्यागन चीनको छायाँ देखिन्छ। विगत केही वर्षहरुमा पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेशका लागि चीन एक शक्तिशाली सहयोगीको रूपमा खडा भएको देखिन्थ्यो। दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूले वर्षौं पहिले क्रेडिट लाइनहरू मार्फत आफ्नो समर्थन प्रतिबद्धता र विकास परियोजनाका लागि चिनियाँ पूर्वाधार बैंकहरूको माध्यमबाट मौद्रिक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि चीनले गरेको थियो।
चीनले गरेको उक्त प्रतिबद्धताबारे ती राष्ट्रहरुको आँखा अहिले खुलेका छन्। जसका कारण चीनले दिने सहयोग र ऋणबाट ती राष्ट्रहरु पछि हटेका छन्। धेरै विश्वव्यापी घटनाहरूको कारण आफ्नो अर्थतन्त्रको साथ चल्न संघर्ष गरिरहेका राष्ट्रहरूलाई समर्थन गर्ने चीनको प्रतिबद्धता र आश्वावसन एक धोका भएको महसुस ती राष्ट्रहरुले गरिरहेका छन्। चीन एक धोकेबाज मुलुक भएको र दक्षिण एसियाली क्षेत्रलाई अस्थिर बनाउने मुलुकको रुपमा देखिएको छ।
स्वतन्त्रताको इतिहास बोकेको दक्षिण एसियाली क्षेत्रको एक टापु राष्ट्र श्रीलंकाले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। यसको मुलुकमा अत्यावश्यक वस्तुको चर्को अभाव भएको छ। वैदेशिक सञ्चितिको अभावले औषधि र इन्धन जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न पनि सकस भएको देखिन्छ। यसले राजनीतिक उथलपुथल निम्त्याएको छ र विरोधहरू हिंसात्मक रूपमा परिणत भएका छन्। टापु राष्ट्रले आफ्ना चिनियाँ समकक्षीहरूसँग आर्थिक सम्बन्ध बनाएको छ।
श्रीलंकाले चीनबाट सन् २०२० सम्म ४.६ बिलियन डलर ऋण लिएको थियो। आफ्नो विदेशी सञ्चितिलाई व्यवस्थापन गर्न सन् २०२१ मा ५०० मिलियन डलर थप सहयोग मागेको थियो। यद्यपि, श्रीलंकाको राष्ट्रपति गोतावय राजापाक्षेले आर्थिक संकटका बीचमा १ बिलियन डलर थप ऋण लिएको थियो। उक्त ऋण दिन चीनले अस्वीकार गर्यो। आफ्नो सत्ता टिकाउनका लागि राजापाक्षे परिवारलाई चिनियाँ स्वार्थ पूर्तिका लागि श्रीलंकालाई भड्खालोमा हाल्ने काम गरेका थिए।
चीनले चर्को ब्याजमा श्रीलंकालाई पैसा दियो। जसको ब्याज तिर्न पनि श्रीलंकालाई हम्मे-हम्मे परेको थियो। सीसीपीले ऐतिहासिक रूपमा महँगो प्रस्ताव गरेर राजापाक्षे परिवारसँग आफ्नो सम्बन्ध विकास गरेको थियो। परियोजनाहरु पनि अनावश्यक ठाउँमा र अनुपयुक्त क्षेत्रका लागि ऋण लिएको पाइएको हो। दक्षिणी श्रीलंकाको मट्टाला राजपक्षे अन्तर्राष्ट्रिय विमानस्थल यसको उदाहरण हो। ऋण चुक्ता गर्न नसकेपछि ९९ वर्षका लागि होम्बनटोटा विमानस्थल चीनलाई जिम्मा लगाएको कुरा पनि धेरै पर छैन।
चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत चीनले श्रीलंकाजस्तै अन्य धेरै मुलुकहरुलाई ऋण जालमा फसाएको छ। श्रीलंकामा राजापाक्षको चुनावी अभियानका क्रममा चिनियाँ पक्षले चुनावी खर्चका लागि आर्थिक सहयोग गरिरहेको थियो र राजापाक्षे समर्थकहरूलाई उपहार पनि दिएका थिए। चुनाव सकिएपछि चीनले उक्त रकमलाई नै ऋण भएको उल्लेख गर्दै ऋण चुक्ता गर्न दबाब दियो। श्रीलंकाले चीनको चर्को ब्याज ऋण चुक्ता गर्दा विदेशी सञ्चिति पनि रित्तिन थाल्यो। त्यसकै परिणाम आज श्रीलंका संकटमा छ।
अर्कोतर्फ, पाकिस्तानले चीनसँग रणनीतिक रूपमा अझ बढी मित्रवत सम्बन्ध राखेको छ। चीन-पाकिस्तानको साझेदारीको पछिल्लो उदाहरण सीपीईसी परियोजना बनेको छ। सुरुमा राम्रो लगानी गर्ने र पाकिस्तानको विकासका लागि टेवा पुर्याउने भनिएको परियोजनामा अहिले चीनले लगानी रोकेको छ। सदाबहादर मित्र पाकिस्तानलाई ऋण डुबाएर चीनले न त सीपीईसी परियोजना पूरा गर्न सकेको छ न त यसमा थप काम अघि बढाउन सकेको छ।