समाचार

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

काठमाडौं, १० असोज । लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा पहिरोले सडक पुरिएपछि सर्वसाधारण र सवारीसाधन बिच बाटोमै थपिएका छन्।

पहिरोका कारण रामेछापको मन्थली नगरपालिका–६ स्थित हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड अवरुद्ध भएको छ। यस्तै, हिमाली जिल्ला मनाङ जोड्ने चामे–बेसीसहर सडकखण्ड अन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा खसेको पहिरोले यातायात पूर्ण रूपमा रोकेको छ।

गण्डकी प्रदेशका अन्य स्थानमा पनि पहिरोले ठूलो असर पुर्‍याएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको छ।

जोखिम बढेका कारण प्रहरीले अन्य थुप्रै जोखिमपूर्ण सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाएको छ। सुरक्षा निकाय र स्थानीय प्रशासनले पहिरो हटाई सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षाका कारण पन्छाउन सकस भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button