समाचार

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी, १० । लगातारको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह निरन्तर उकालो लागेपछि जोखिम व्यवस्थापनका लागि ब्यारेजका ढोकाहरू क्रमश: थपिँदै लगिएको हो।

यसअघि शुक्रबार बिहान १० बजे १ लाख ९८ हजार २ सय २० क्युसेक बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए। बहाव बढ्दै जाँदा दिउँसो १ बजे (२ लाख २९ हजार ९ सय ६० क्युसेक) ३० वटा र दिउँसो २ बजे (२ लाख ४० हजार ५ सय ५५ क्युसेक) ३१ वटा ढोका खोलिएको थियो।

नदीमा जलसतहले खतराको तह पार गरेपछि ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालेर जोखिमको सङ्केत गरिएको छ। जलभण्डार र बहाव अझै बढ्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

साथै, बाढीको जोखिमका बीच कोशी नदीमा माछा मार्ने, काठ-दाउरा सङ्कलन गर्ने वा जोखिमपूर्ण स्थानमा नजान कडा अनुरोध गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button