समाचार

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

मुम्बइ, १० भदाैं । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतीक्षित चलचित्र ‘मोन्स्टर’लाई लिएर चलचित्र बजारमा चौतर्फी चर्चा र उत्सुकता छाएको छ।

चलचित्रको प्रदर्शन मिति आउन पाँच महिना बाँकी छँदै र छायाङ्कन पूरा नहुँदै यसको अल-इन्डिया वितरण अधिकार ठूलो रकममा बिक्री भएको छ। भारतको प्रसिद्ध सिनेमा शृङ्खला पिभिरआर आइनक्सले रु. १०० करोडमा ‘मोन्स्टर’को सम्पूर्ण भारतभरको वितरण अधिकार खरिद गरेको छ। 

‘बलिउड हंगामा’का अनुसार वर्तमान परिस्थितिमा यसलाई निकै ठूलो र जोखिमपूर्ण सम्झौता मानिएको छ। आजभोलि वितरकहरू ठूलो रकम लगानी गर्नुअघि निकै सावधानी अपनाउने गर्छन्। यद्यपि, यो सम्झौता ‘फिर्ता हुन सक्ने अग्रिम भुक्तानी’ को प्रावधानसहित गरिएको छ। चलचित्र उद्योगको नियमअनुसार यदि चलचित्र निर्धारित समयमा प्रदर्शन हुन सकेन, वितरकले सम्झौताअनुसारको अधिकार प्राप्त गर्न सकेन वा चलचित्रले न्यूनतम व्यापार गर्न सकेन भने निर्माताहरूले उक्त अग्रिम रकम पूर्ण वा आंशिक रूपमा फिर्ता गर्नुपर्ने हुन्छ। पिभिरआर आइनक्सभने ‘मोन्स्टर’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्नेमा पूर्ण विश्वस्त देखिएको छ।

 

रिपोर्टहरूका अनुसार, पिभिरआर आइनक्सले सलमानको ‘मोन्स्टर’का केही प्रारम्भिक दृश्य तथा झलकहरू हेरेपछि नै यो ठूलो दाउ लगाउने निर्णय गरेको हो। ती दृश्यहरूमा सलमान निकै आक्रामक (खूंखार) रूपमा प्रस्तुत भएका छन् र उनलाई विभिन्न स्वरूपमा देख्न सकिनेछ। चलचित्रको यही झलकले वितरकहरूलाई कुनै आर्थिक नोक्सानी नहुने विश्वास दिलाएको छ।

 

हाल सलमान खान उच्च प्रविधिमा आधारित रेल-एक्सन दृश्यको छायाङ्कनमा व्यस्त रहेका छन्, जहाँ उनले खलनायक अरविन्द स्वामी र उनको गिरोहसँग एक्लै भिड्दै गरेको देख्न पाइनेछ। अन्तर्राष्ट्रिय छायाङ्कन भने अक्टोबर महिनामा सुरु हुनेछ। पोस्ट-प्रोडक्सन सकिएपछि आगामी वर्षको इदको अवसर पारेर मार्च २०२७ मा चलचित्र देशभरका हलहरूमा प्रदर्शन गरिनेछ।

 

वमशी पैदिपल्लीको निर्देशनमा बनिरहेको यस चलचित्रमा सलमान खान, अरविन्द स्वामी र नयनताराका साथै राहुल देव, ज्याकी श्राफ र अभिमन्यु सिंहको पनि मुख्य अभिनय रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button