गौर भेटेरिनरी अस्पतालको सेवा प्रवाहमा सुधार

। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको सेवा प्रवाहमा सुधार आएको छ।पशु चिकित्सक इन्दु राय यादव कार्यालय प्रमुखका रूपमा आएपछि सेवा प्रवाह र व्यवस्थापनमा सुधार भएको केन्द्रले जनाएको छ।
यादवको नेतृत्वमा सेवाग्राही किसानलाई सहज र छिटो सेवा दिनुका साथै कार्यालय सरसफाइ, स्थानीय तहसँगको समन्वय तथा पशु रोग नियन्त्रणमा सक्रियता बढाइएको छ। पशुमा महामारीजन्य रोग देखिए तत्काल प्राविधिक टोली परिचालन गर्ने व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ।
प्रयोगशाला सेवा विस्तार गर्दै गोबरसँगै पिसाब, रगत र दूध परीक्षण सुरु गरिएको छ। कुखुराको रोग पहिचानका लागि पोस्टमार्टेम तथा रेपिड टेस्ट र साल्मोनेला तथा माइकोप्लाज्मा परीक्षणका लागि PAT Test समेत सञ्चालनमा ल्याइएको जनाइएको छ।
किसान लक्षित अनुदान कार्यक्रमअन्तर्गत बाख्रा, घाँस खेती र पाडा पालनका लागि अनुदान उपलब्ध गराइएको छ। गत आर्थिक वर्षमा केन्द्रले ५५ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको विवरण सार्वजनिक गरेको छ।
पशु रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खोरेत, लम्पी स्किन र पीपीआरविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। उपचारसँगै रोगको रोकथाम, प्रयोगशाला परीक्षण र वैज्ञानिक पशुपालनबारे किसानलाई जानकारी दिने कामलाई समेत प्राथमिकता दिइएको छ।



