सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलनमा उत्रिने हरिजनको चेतावनी

काठमाडौं, ९ असोज । सहमति भएको ४८ दिन बित्दासमेत कार्यान्वयन नभएको भन्दै एमबीबीएस/बीडीएस अध्ययनरत इन्टर्न डाक्टर डिल्ली हरिजन फेरि आन्दोलनमा उत्रिने भएका छन् ।
इन्टर्न चिकित्सकहरूको समान निर्वाह भत्ता, कार्यघण्टा तथा सम्बन्धित अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनरत हरिजनले सरकारसँग भएको पाँचबुँदे सहमति कार्यान्वयन नभए पुन: आमरण अनशन बस्ने घोषणा गरेका छन् ।
एमबीबीएस/बीडीएस इन्टर्न चिकित्सक निर्वाह भत्ता आन्दोलन, नेपालका संयोजकसमेत रहेका हरिजनले शुक्रबार विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयनका लागि सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकायलाई १५ दिनको समयसीमा दिएका हुन् ।
हरिजनले गत साउन १९ गतेदेखि आमरण अनशन सुरु गरेका थिए । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारको वार्ता टोलीसँग साउन २२ गते पाँचबुँदे सहमति भएपछि उनले अनशन स्थगित गरेका थिए ।
तर, सहमति भएको करिब ४८ दिन बितिसक्दा पनि सहमतिअनुसार ठोस निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उनको दावी छ । पटकपटक सम्बन्धित निकायमा पत्राचार, भेटघाट तथा ध्यानाकर्षण गराउँदा पनि विषय निर्णयको प्रतीक्षामै रहेको उनले बताएका छन्



