समाचार

संयुक्त राष्ट्र महासभाको हाई लेभल वीकमा डा. चिन्मय पण्ड्या सहभागी

। भारत उत्तराखण्ड हरिद्वारस्थित देवसंस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा. चिन्मय पण्ड्याले संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत आयोजित हाई–लेभल वीकमा आमन्त्रित अतिथिका रूपमा सहभागिता जनाएका छन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित उक्त कार्यक्रममा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता थियो । सो क्रममा डा. पण्ड्याले शान्ति, मानवता, सहअस्तित्व र आध्यात्मिक चेतनालगायत विषयमा विभिन्न देशका बुद्धिजीवी तथा गणमान्य व्यक्तिहरूसँग संवाद गरेका थिए ।

अखिल विश्व गायत्री परिवारले जारी गरेको विज्ञप्तिअनुसार डा. पण्ड्याले विश्व अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै त्यसको समाधानका लागि प्राविधिक र आर्थिक विकाससँगै मानवीय संवेदना, नैतिक मूल्य र आपसी विश्वासलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । उनले भारतीय संस्कृतिको त्यस्तो जीवनदृष्टि प्रस्तुत गरेका थिए, जसले सम्पूर्ण मानवतालाई एउटै परिवारका रूपमा हेर्ने र शान्ति तथा सद्भावलाई जीवनको आधार मान्ने गर्दछ ।

संयुक्त राष्ट्र महासभाको हाई–लेभल वीक विश्वव्यापी चुनौती तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विश्वका प्रमुख नेता र प्रतिनिधिहरूबीच छलफल हुने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । कार्यक्रममा डा. पण्ड्याले मानवताका साझा सरोकार तथा विश्वशान्तिका लागि आध्यात्मिक चेतनाको भूमिकाबारे विभिन्न देशका प्रतिनिधिसँग विचार आदानप्रदान गरेका थिए ।

गायत्री परिवारका अनुसार जन्मशताब्दी वर्षका क्रममा डा. पण्ड्याको यो सहभागिता युगऋषि पं. श्रीराम शर्मा आचार्य र वन्दनीया माता भगवती देवी शर्माले अघि सारेका मानव एकता, विश्वबन्धुत्व, सद्भाव तथा ‘वसुधैव कुटुम्बकम्’को अवधारणालाई अन्तर्राष्ट्रिय संवादसँग जोड्ने अवसर बनेको छ ।

यसअघि पनि डा. पण्ड्या बेलायतस्थित हाउस अफ लर्ड्स, अल–खोई फाउन्डेसन तथा कमनवेल्थ पार्लियामेन्ट्री एसोसिएसनका विभिन्न कार्यक्रममा सहभागी भइसकेका छन् । उनले युनेस्कोको अन्तरसरकारी बैठक, भियनास्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा शोधपत्र प्रस्तुति तथा जेनेभामा आयोजित ‘एआई फर गुड ग्लोबल समिट’ र जेनेभा सेन्टर फर सेक्युरिटी पोलिसीका कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) र भारतीय आध्यात्मिक दृष्टिकोणलगायत विषयमा व्याख्यानसमेत दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button