१९ वर्षपछि खुल्यो दोहोरो हत्याको रहस्य, कारागारमा रहेका यादव मुख्य अभियुक्तका रूपमा पहिचान

रौतहटमा १९ वर्षअघि भएको दोहोरो हत्याको घटनामा प्रहरीले मुख्य अभियुक्त पहिचान गरेको छ । लामो समयदेखि अनुसन्धानमा रहेको घटनामा तत्कालीन भूमिगत संगठनमा सक्रिय रहेका वारुद सिंह भन्ने सुरेन्द्र प्रसाद यादवको मुख्य संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।
यादव हाल अर्को मुद्दामा जिल्ला कारागार रौतहटमा सजाय भुक्तान गरिरहेका छन् । उनीमाथि अपहरण तथा शरीर बन्धक र संगठित अपराधसम्बन्धी मुद्दामा सजाय तोकिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले बताएका छन्।
२०६४ वैशाख ३१ गते राति करिब १ बजे तत्कालीन धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा अज्ञात समूहले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको थियो ।
घटनामा तत्कालीन पिपरिया (दो.) गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र तत्कालीन गेड्हीगुड्डठ्ठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनीको हत्या भएको थियो ।
घटनाको निरन्तर अनुसन्धानका क्रममा यादवको मुख्य संलग्नता रहेको खुलेको डीएसपी गौतमले बताएका छन्। उनका अनुसार घटनाको समयमा यादव तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा आबद्ध तथा सक्रिय थिए ।
१९ वर्षपछि अभियुक्त पहिचान
घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसक्दा लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनामा पछिल्लो अनुसन्धानबाट यादवसम्म प्रहरी पुगेको हो ।
प्रहरीले यादवको घटनामा रहेको भूमिका, हत्याको कारण र अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता गौतमका अनुसार घटनासँग सम्बन्धित थप तथ्य अनुसन्धानको क्रममा खुल्दै जानेछ ।



