न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं

काठमाडौं, ७ असोज । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शुक्रबारदेखि आइतबारसम्म विशेष सचेत रहन अपिल गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्रीले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दिनसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री बालेनले मौसम पूर्वानुमान महाशाखाको बुलेटिन साभार गर्दै आमजनतालाई सतर्कता अपनाउन भनेका हुन् । ‘मौसम विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ,’ उनले भनेका छन्, ‘मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।’
बालेनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गरेका छन् । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।
ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले सल्लाह दिएका छन् ।



