सादा पोसाकमा पार्क पुगे मुजफ्फरपुरका एसएसपी मिश्र, सर्वसाधारणसँग गरे सुरक्षा संवाद

रौतहट, ५ भदौ । मधेश प्रदेश संग जोडिएको भारत बिहार मुजफ्फरपुरका लोकप्रिय एसएसपी कान्तेश कुमार मिश्र सादा पोसाकमा अचानक जुब्बा सहनी पार्क पुगेपछि त्यहाँ रहेका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका छन्।
सोमबार बिहान पार्कमा पुगेका एसएसपी मिश्रले विशेषगरी ज्येष्ठ नागरिक र महिलासँग उनीहरूको सुरक्षा तथा दैनिक समस्याबारे जानकारी लिएका थिए। उनले बिहानको हिँडडुल तथा साँझको भ्रमणका क्रममा सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन र लागुऔषधसँग सम्बन्धित गतिविधिबारे स्थानीयसँग सुझाव तथा सूचना संकलन गरेका थिए।
यस क्रममा प्रहरीले प्रत्येक प्रहरी कार्यालयमा ज्येष्ठ नागरिक कोषांग गठन गर्ने तयारीसमेत गरेको छ। कोषांगमार्फत ज्येष्ठ नागरिकको नियमित विवरण संकलन तथा सत्यापन गरी उनीहरूको सुरक्षाका लागि आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
फरार अभियुक्तबारे सूचना दिन आग्रह
सोही क्रममा मिठनपुरा थाना क्षेत्रमा भएको पति–पत्नी दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा फरार रहेका एक अभियुक्तको पक्राउका लागि प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ।
प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै पार्कमा सर्वसाधारणलाई पोस्टरसमेत वितरण गरेको थियो। अभियुक्तबारे कुनै सूचना भए प्रहरी नियन्त्रण कक्षको मोबाइल नम्बरमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रहरीको भनाइ छ।
कार्यक्रममा नगर डीएसपी सुरेश कुमारलगायत प्रहरी अधिकारीहरूको समेत उपस्थिति थियो।
मोतीहारीमा पनि छाडेका थिए जनसम्बन्धको छाप
एसएसपी मिश्र मुजफ्फरपुरको जिम्मेवारी सम्हाल्नुअघि दिल्ली प्रहरीको विशेष कमान्डमा तथा त्यसअघि मोतीहारीका प्रहरी प्रमुख एसपीका रूपमा कार्यरत थिए।
मोतीहारीमा कार्यरत रहँदा उनले शून्य सहनशीलताको नीति, अपराध नियन्त्रण र शान्ति–सुरक्षालाई प्राथमिकता दिएको स्थानीय प्रहरी स्रोत बताउँछ। महिला थाना मोतीहारीमा कार्यरत प्रहरी जवान अजय तिवारीका अनुसार मिश्रको कार्यकालमा सर्वसाधारणले आफूलाई लागेको समस्या लिएर सहज रूपमा भेट्न पाउने वातावरण बनेको थियो।
तिवारीका अनुसार मिश्रले नागरिकका गुनासा सुनेर सम्भव भएसम्म तत्कालै उचित सहयोग र समाधानका लागि पहल गर्ने गर्थे। त्यसैले उनको मोतीहारीबाट सरुवा हुँदा प्रहरी कर्मचारी मात्र नभई विभिन्न राजनीतिक दलका नेता, व्यापारी, किसान तथा सर्वसाधारणले समेत भव्य कार्यक्रम आयोजना गरेर सम्मानसहित बिदाइ गरेका थिए।
जनतामाझ पुग्ने प्रहरी नेतृत्व
मिश्रको पछिल्लो जनसंवाद कार्यक्रमले प्रहरी कार्यालयमा बसेर मात्र सुरक्षा व्यवस्थापन गर्नेभन्दा प्रहरी नेतृत्व आफैं नागरिकमाझ पुगेर समस्या सुन्ने अभ्यासलाई प्राथमिकता दिएको संकेत गर्छ। विशेषगरी ज्येष्ठ नागरिक र महिलाका सुरक्षा समस्या प्रत्यक्ष सुन्ने तथा लागुऔषध र ट्राफिकजस्ता विषयमा स्थानीयबाट सूचना लिने प्रयासले प्रहरी–नागरिक सम्बन्धलाई थप प्रत्यक्ष बनाउने देखिन्छ।
मोतीहारीमा समेत नागरिकसँग सहज सम्पर्क र अपराध नियन्त्रणलाई प्राथमिकता दिएको उनको पुरानो कार्यशैलीसँग मुजफ्फरपुरको पछिल्लो अभियानलाई जोडेर हेर्दा मिश्राले प्रहरीको प्रभावकारितासँगै जनविश्वासलाई पनि सुरक्षा व्यवस्थापनको महत्वपूर्ण आधार बनाउँदै आएको देखिन्छ।



