समाचार

क्षिरेश्वरनाथका ६३० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

जनकपुरधाम, ३ असोज । नाप नक्सा भई लामो समयदेखि सुकुम्बासी बस्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका ६३० परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । 

शुक्रवार हालको क्षिरेश्वरनाथ नगरपालिका १ (साबिकको रमदैया भवाडी गाविसको वडा नम्बर २, ३, ४, ६, ७ र ८) का ३८८ घर परिवारलाई लालपूर्जा वितरण गरिएको थियो भने शनिवार क्षिरेश्वरनाथ नगरपालिका-२ का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब नाै वर्षपछि लालपुर्जा दिइएको हो । 

साविक रमदैया भवाडी गाविसका वडा नम्बर १, ५ र ९ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई शनिवार नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको बताइएको छ । 

क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेवले एक कार्यक्रमका बीच शुक्रवार र आइतवार दुवै वडामा लालपुर्जा वितरण गरेका हुन् । सो लालपुर्जा वितरण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

उक्त क्षेत्रको नापजाँच तथा नापनक्साको काम २०७४ सालमै सम्पन्न भएको थियो । तर, नापजाँच सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले वर्षौँसम्म लालपुर्जा पाउन सकेका थिएनन् ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले क्षिरेश्वरनाथ वडा नम्बर १ र २ का ६३० परिवारले आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका हुन् । लालपुर्जा पाएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गा किनबेच, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज भएको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमार साहले जानकारी दिएका छ्न । 

स्ववासीको लगत तयार हुने र गाउँ ब्लक क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा संवर्धनमा समेत सहयोग पुग्ने नापी कार्यालयले जनाएको छ । स्थानीय तहलाई व्यवस्थित बसोबास क्षेत्रको अवधारणा तयार गरी दीर्घकालीन योजना बनाउनसमेत पुर्जा वितरणले सहज बनाउने बताइएको छ ।

नापी कार्यालय धनुषाले नाप नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका जिल्लाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरण अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुर्जा वितरणलाई निरन्तरता दिने जनाएको छ । यसअघि धनुषामा विभिन्न स्थानमा गरी ४ हजार ३ सय ५४ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिसकिएको उनले जनाएको छ । 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button