जनकपुरधामको रामजानकी मन्दिर क्षेत्र संरक्षित स्मारक घोषणा

जनकपुरधाम, ३ असोज । नेपाल सरकारले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामजानकी मन्दिरसहितका क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रुपमा घोषणा गरेको छ ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।
हुनत पुरातत्व विभागले धनुषा जिल्लास्थित जनकपुरधाम सहित विभिन्न धार्मिक सम्पदालाई २०६६ सालतिरै संरक्षित क्षेत्रको रुपमा घोषणा गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषदको बैठकका पुरातत्व विभागले गरेको निर्णयलाई कार्यान्वयन गर्दै जनकपुरधामस्थित रामजानकी मन्दिर सहित वरपरका क्षेत्रलाई संरक्षित स्मारकको रुपमा घोषणा गरिएको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार राजपत्रमा प्रकाशित संरक्षित क्षेत्रको पूर्वी सीमा जनकपुरधामको भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुँदै दक्षिणतर्फ जाने परिक्रमा पथसम्म तोकिएको छ ।
यस्तै, पश्चिमतर्फ भमरपुरा चोक हुँदै पश्चिमतर्फ जाने श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप, हनुमान मन्दिर हुँदै उत्तरतर्फ जाने परिक्रमा पथसम्मको क्षेत्रलाई सीमा तोकिएको छ ।
उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक हुँदै मधेश प्रदेश भवन, मिल्स एरिया र भानु चोकसम्मको परिक्रमा पथको सडक सीमा निर्धारण गरिएको छ ।
त्यसैगरी, दक्षिणतर्फ जनकपुरधामको मुरली चोकस्थित विद्यापति स्मारकदेखि भमरापुरा चोकसम्म जाने परिक्रमा पथको सडकलाई सीमा मानिएको छ । सरकारले तोकेको चार किल्लाभित्र पर्ने क्षेत्र अब प्राचीन स्मारक संरक्षणसम्बन्धी कानुनी व्यवस्था अनुसार संरक्षण र व्यवस्थापनको दायरामा आउनेछ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिनुलाई जनकपुरधामको ऐतिहासिक सम्पदा संरक्षणतर्फको महत्वपूर्ण सरकारी कदमका रूपमा लिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उक्त सूचना असोज १ गतेको नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३४ मा प्रकाशित भएको हो ।



