संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार मधेश भवन परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सुरु भएको सरसफाइ अभियान मधेश भवन परिसरमा रहेका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसम्म पुगेको थियो। अभियानमा प्रदेश सरकारका मन्त्री, सचिव, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।
सरसफाइ अभियानमा मधेश प्रदेश सरकारका गृहमन्त्री फकिरा महतो, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश बराल र पार्वती शर्मासहित विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी सहभागी थिए।
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएकोमा चारवटै सुरक्षा निकायप्रति आभार व्यक्त गरेका छन्। उनले सरकारी कार्यालय तथा मन्त्रालय परिसर सफा र स्वच्छ राख्नु सरकार तथा कर्मचारी सबैको साझा दायित्व भएको बताएका छन्।
अर्थमन्त्री भट्टराईले सरसफाइलाई कुनै विशेष दिवस वा अभियानमा मात्र सीमित नगरी दैनिक जीवनको नियमित व्यवहारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआईजी विष्णुप्रसाद भट्टले सरसफाइ अभियानलाई दिवस विशेषमा मात्र सीमित नगरी निरन्तरता दिनुपर्ने बताए।
मधेश प्रदेश प्रहरी गण जनकपुरधामका एसपी माधवप्रसाद बुढाथोकीले संविधान दिवसका अवसरमा आयोजित अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै स्वच्छ वातावरणका लागि नियमित सरसफाइ अपरिहार्य रहेको धारणा राखेका थिए।
अभियानमा सहभागी प्रदेश सरकारका पदाधिकारी, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले स्वच्छ वातावरण, व्यवस्थित सार्वजनिक स्थल र जिम्मेवार नागरिक व्यवहारले नै सभ्य तथा समुन्नत समाज निर्माणमा योगदान पुर्याउने सन्देश दिएका थिए।




