समाचार

जलवायु न्यायका लागि प्रधानमन्त्री साहलाई विद्यार्थीको अनुरोध

 रौतहटको पूर्विभेग राजदेवी नगरपालिकाको मुडवलवास्थित नेमधारी बासुदेव नमुना विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले जलवायु न्यायका लागि पहल गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन्।

विद्यालयका विद्यार्थीहरूले शुक्रवार जिल्ला प्रशासन कार्यालय रौतहट, गौर पुगेर ८१औँ संयुक्त महासभामा जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाइदिन आग्रह गर्दै प्रधानमन्त्री साहका नाममा तयार पारिएको अनुरोधपत्र सिडियो लक्ष्मीप्रसाद पौडेललाई बुझाएका हुन्।

विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयको सभाहलमा सामूहिक रूपमा भेट गरी पत्र बुझाएको सञ्चारकर्मी राकेश यादवले बताएका छन्।

जलवायु परिवर्तनको असर विश्वव्यापी भए पनि त्यसको प्रभाव विकासशील तथा जोखिममा रहेका समुदायले बढी भोगिरहेको सन्दर्भमा विद्यार्थी तहबाटै जलवायु न्यायको आवाज उठाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कार्यक्रमका क्रममा रौतहटका सिडियो पौडेललाई विद्यार्थीहरूको तर्फबाट वर्षा यादवले खादा लगाएर स्वागतसमेत गरेकी थिइन्।

सो अवसरमा सहायक सिडियो हेमराज फुयाँल, विद्यालयका प्रधानाध्यापक रविशंकर यादव, शिक्षक टेकनाथ खतिवडालगायतको उपस्थिति थियो।

विद्यार्थीहरूले प्रधानमन्त्रीलाई पठाएको अनुरोधपत्रले जलवायु परिवर्तन केवल वातावरणीय विषय नभई आगामी पुस्ताको अधिकार र भविष्यसँग जोडिएको विषय भएकाले राज्यको नीति तथा अन्तर्राष्ट्रिय मञ्चमा यसको प्रभावकारी प्रतिनिधित्व आवश्यक रहेको सन्देश दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button