समाचार

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

भारतको बिहारस्थित मुजफ्फरपुरमा करिब ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको सकुशल उद्धार गरी वीरगंजस्थित परिवारसँग पुनर्मिलन गराइएको छ।

धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय र मानवसेवा आश्रम वीरगञ्जको पहलमा उद्धार गरिएको हो।

मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला परेपछि भारतीय प्रहरीले तामाङलाई त्यहाँस्थित शान्ति कुटीर आश्रममा राखेको थियो। उनको अवस्थाबारे जानकारी पाएपछि पर्सा प्रहरी र मानवसेवा आश्रमले भारतीय पक्षसँग समन्वय गर्दै उद्धार प्रक्रिया अघि बढाएका थिए।

गत शनिबार मुजफ्फरपुरबाट उद्धार गरी वीरगञ्ज ल्याइएकी तामाङलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित प्रक्रियामार्फत परिवारको जिम्मा लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराई र प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लको उपस्थितिमा तामाङलाई उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी मल्लका अनुसार लामो समयदेखि परिवारसँग सम्पर्कविहीन रहेकी तामाङ सकुशल अवस्थामा फेला परेपछि आवश्यक समन्वय गरी परिवारसम्म पुर्‍याउन सफल भएको हो। ११ महिनापछि छोरीलाई सकुशल भेटेपछि परिवारमा समेत खुसी छाएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button