समाचार

किंग हमद अवार्डको निर्णायक समितिमा एकमात्र भारतीय डा. चिन्मय पण्ड्या

 भारतको उत्तराखण्डस्थित देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा. चिन्मय पण्ड्या बहरीनको प्रतिष्ठित किंग हमद अवार्ड फर को–एग्जिस्टेन्स एन्ड टोलरेन्सको निर्णायक समितिमा सदस्यका रूपमा चयन भएका छन् ।

बहरीनका राजा हमद बिन ईसा अल खलिफाको तर्फबाट डा. पण्ड्यालाई उक्त जिम्मेवारीका लागि आमन्त्रण गरिएको हो । विभिन्न देशका प्रतिष्ठित बुद्धिजीवी, शिक्षाविद् तथा विभिन्न संस्कृति र समुदायका प्रमुख विचारकहरूलाई समेटिएको निर्णायक समितिमा डा. पण्ड्या एकमात्र भारतीय रहेको जनाइएको छ ।

सह–अस्तित्व, पारस्परिक सम्मान, सहिष्णुता तथा मानव बन्धुत्वको भावना प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिँदै आएको छ । निर्णायक समितिमा डा. पण्ड्याको सहभागितालाई अखिल विश्व गायत्री परिवारले लामो समयदेखि अघि बढाउँदै आएको मानव एकता, सामाजिक समरसता, सद्भाव तथा विश्वकल्याणको अभियानसँग पनि जोडेर हेरिएको छ ।

जिम्मेवारी स्वीकार गर्दै डा. पण्ड्याले यो मानवतालाई जोड्ने मूल्यमान्यतामा योगदान गर्ने अवसर भएको बताएका छन् । उनले उक्त जिम्मेवारी ‘वसुधैव कुटुम्बकम्’, शान्ति, सद्भाव र विश्वकल्याणका शाश्वत मूल्यसँग जोडिएको उल्लेख गरे ।

उनका अनुसार अहिले विश्वलाई आर्थिक तथा भौतिक विकाससँगै विश्वास, संवाद र मानवीय संवेदनालाई बलियो बनाउने आवश्यकता छ । विभिन्न धर्म, संस्कृति र विचारबीच सम्मानपूर्ण संवाद नै दीगो शान्तिको आधार बन्न सक्ने उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button