
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि महानगरका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलनमा उत्रिने तयारीमा पुगेका छन्। उनीहरूले पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
वडा अध्यक्षहरूले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा चिकित्सकको कथित लापरवाहीका कारण वीरगन्ज महानगरपालिका वडा नं. २४ का राजकुमार कुर्मीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न तथा पीडित परिवारको न्यायका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको अवस्थामा वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले महानगरपालिका कार्यालय परिसरबाट पक्राउ गरेको हो।
साउन १२ गते जारी संयुक्त वक्तव्यमा वडा अध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नगरबासीको हकहितका लागि आवाज उठाएकै आधारमा गरिएको धरपकड लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन्।
उनीहरूले पक्राउ परेका वडा अध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसँग माग गर्दै, माग सम्बोधन नभए साउन १३ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
यस विषयमा स्थानीय प्रशासन वा प्रहरीले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। घटनापछि वीरगन्जको राजनीतिक तथा प्रशासनिक वातावरण थप तनावपूर्ण बन्न सक्ने आकलन गरिएको छ।



