स्लोभेनियामा नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको भव्य लाइभ कन्सर्ट हुँदै।

लुब्लियाना (स्लोभेनिया), नेपाली कलाकार संघ स्लोभेनियाको आयोजनामा नेपालका चर्चित गायक नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको बहुप्रतीक्षित लाइभ कन्सर्ट आगामी सेप्टेम्बर १२, शनिबार साँझ ६:०० बजेदेखि लुब्लियानास्थित CLUB CVETLIČARNA मा आयोजना हुने भएको छ।
कार्यक्रममा नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको लोकप्रिय सांगीतिक प्रस्तुतिसँगै स्लोभेनियामा रहेका स्थानीय नेपाली कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्लोभेनियामा रहेका नेपाली समुदायलाई मनोरञ्जनसँगै आपसी भेटघाट,र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
नेपाली कलाकार संघ स्लोभेनियाका अध्यक्ष दियस थापा (दिपक) ले कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यका साथ हामीले यो विशेष कार्यक्रम आयोजना गरेका हौँ। नवीन के. भट्टराई र द अतृप्त ब्यान्डको विशेष प्रस्तुति मात्र होइन, स्लोभेनियामा रहेका स्थानीय नेपाली कलाकारहरूको उत्कृष्ट प्रस्तुति पनि रहने भएकाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवार र साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछु।”
आयोजकका अनुसार यो कार्यक्रम स्लोभेनियामा रहेका नेपाली समुदायका लागि वर्षकै विशेष सांगीतिक उत्सवका रूपमा रहने अपेक्षा गरिएको छ। नेपाली संगीत, कला र संस्कृतिको उत्सवलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।



