मधेससमाचारसमाजस्थानीय

कलैयामा ट्राफिकको कडा निगरानी, नियम उल्लङ्घन गर्ने २१ सवारी कारबाहीमा

– दुई सयभन्दा बढी सवारीको कागजात जाँच, नियम पालनामा कडाइ जारी

कलैया, बारा । बारामा पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले मंगलबार विशेष छड्के ट्राफिक जाँच अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २१ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी पोस्ट कलैयाको कार्यालय अगाडि सञ्चालन गरिएको विशेष चेकिङका क्रममा १५ वटा अटो, दुई वटा ट्र्याक्टर र चार वटा मोटरसाइकल गरी कुल २१ वटा सवारीसाधन आवश्यक कागजात अभाव, रुट परमिट नलिएको, हेल्मेट प्रयोग नगरेको तथा अन्य ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ट्राफिक ऐनअनुसार कानुनी कारबाही गरिएको हो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवका अनुसार मोटरसाइकल चालकहरूलाई हेल्मेट प्रयोग नगरी सवारी चलाएको, एउटै मोटरसाइकलमा तीन जना सवार भएको, चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक तथा अन्य आवश्यक कागजात साथमा नराखेको कारण कारबाही गरिएको हो। यस्तै अटो चालकहरूले क्षमताभन्दा बढी यात्रु बोकेको, रुट परमिटबिनै सार्वजनिक सवारी सञ्चालन गरेको तथा वैध चालक अनुमति पत्रबिना सवारी चलाएको पाइएपछि उनीहरूमाथि पनि कारबाही गरिएको उनले बताए। ट्र्याक्टरहरूलाई समेत आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरेको आधारमा जरिवाना गरिएको छ।

प्रहरीका अनुसार अभियानका क्रममा अटो, मोटरसाइकल, ट्र्याक्टर, ट्रक तथा अन्य सवारीसाधन गरी करिब दुई सयभन्दा बढी सवारीको लाइसेन्स, ब्लुबुक, रुट परमिट, सवारी दर्ता प्रमाणपत्र, बीमा लगायतका आवश्यक कागजात सूक्ष्म रूपमा परीक्षण गरिएको थियो। सामान्य प्रकृतिका कमजोरी भेटिएका चालकलाई तत्काल जरिवाना नगरी सचेत गराउँदै आवश्यक कागजात मिलाउन निर्देशन दिइएको प्रहरीले जनाएको छ।

दुर्घटना न्यूनीकरणमा केन्द्रित अभियान

प्रहरी सहायक निरीक्षक यादवले ट्राफिक नियमको पालना गर्नु प्रत्येक चालकको कानुनी तथा नैतिक दायित्व भएको उल्लेख गर्दै हेल्मेटको अनिवार्य प्रयोग, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने, सवारीका सम्पूर्ण कागजात साथमा राख्ने तथा मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेका छन्। उनले नियमको पालना गरे मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने र सुरक्षित सडक संस्कृतिको विकास हुने बताए।

नियम उल्लङ्घन गर्नेलाई अब छुट नहुने

प्रहरीले आगामी दिनहरूमा पनि बजार क्षेत्र, राजमार्ग तथा ग्रामीण सडकहरूमा यस्ता छड्के ट्राफिक जाँच अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तर सञ्चालन गरिने जनाएको छ। ट्राफिक नियमको पालना गरेर सुरक्षित यात्रामा सहयोग गर्न सबै सवारी चालक तथा यात्रुसँग प्रहरीले पुनः अपिल गरेको छ।

बारा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएकाले ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमसँगै कडाइका साथ अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button