
काठमाडौं । सरकारले खुला प्रतिस्पर्धामार्फत कृषि तथा वन विश्वविद्यालय (एएफयू) को उपकुलपतिमा ४५ वर्षीय प्रा. ऋषिराम कट्टेललाई नियुक्त गरेको छ। उनी विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा उपकुलपति बन्न सफल भएका छन्। साथै, यसपटक नियुक्त भएका सातवटै विश्वविद्यालयका उपकुलपतिमध्ये पनि उनी सबैभन्दा कम उमेरका हुन्। लमजुङको राइनास नगरपालिका–अल्कटार निवासी प्रा. कट्टेलले युरोपबाट उच्च शिक्षा हासिल गरेका छन्। कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन, अनुसन्धान, शैक्षिक नेतृत्व र विश्वविद्यालय व्यवस्थापनमा उनले लामो अनुभव हासिल गरेका छन् ।
शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा उनको योगदान उल्लेखनीय मानिन्छ । देशकै एकमात्र कृषि तथा वन विज्ञानमा केन्द्रित प्राविधिक विश्वविद्यालयको नेतृत्व अब प्रा. कट्टेलको काँधमा आएको छ । उनको नेतृत्वमा विश्वविद्यालयमा शैक्षिक सुधार, अनुसन्धानको विस्तार, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यले थप गति लिने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले खुला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालय नेतृत्व छनोट गर्ने नीतिअनुसार सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको हो।
यसअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापा, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल तथा राजर्षि जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ पनि उपकुलपतिमा नियुक्त भएका छन् । सरकारले नयाँ नेतृत्वमार्फत उच्च शिक्षाको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, संस्थागत सुशासन तथा विश्वविद्यालयहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरेको जनाएको छ ।



