राष्ट्रियसमाचार

पढेलेखेका र शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित : ओरेक

मंसिर १३ काठमाण्डौं __ पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन “अन्वेषी २०८१” मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्याङ्क उल्लेख छ ।

संस्थाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ ।
सोमध्ये सबैभन्दा बढी (६५ प्रतिशत) नौ सय ११ जना घरेलु हिंसाबाट प्रभावित रहेका छन् । हिंसामा परेका साक्षर महिलाको संख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ ।

ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले ओरेक कार्यरत जिल्लाबाहेक महिला मानवअधिकार रक्षकहरुसँग समन्वय गरी सातवटै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो । गत जुलाई २०२३ देखि जुन २०२४ सम्म सङ्कलन गरिएका महिला माथि भएका लैिंगक हिंसाका घटनाको तथ्याङ्क अभिलेखीकरण गरी त्यसको बहुपक्षीय विश्लेषणका साथ उक्त पुस्तक तयार पारिएको निर्देशक मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्कलित घटना प्रतिनिधिमूलक मात्र रहेको जनाउँदै पीडकलाई गरिने राजनीतिक संरक्षण, हिंसा प्रभावितलाई नै हिंसाका लागि जिम्मेवार बनाउने प्रवृत्ति, झन्झटिलो न्यायिक प्रक्रियालगायत कारणले अझै धेरै घटनाहरु बाहिर आउन सकेका छैनन ।
पुस्तकमा महिला माथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसा लगायत यस वर्षको अन्वेषीमा महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा घटेका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button