नाजिर हुसेनकी आमा : बीच बाटोमै छुटेकी मीना बेगम

‘तँ नाटक गर्, गीत गा, जे जे गर तर अहेब पनि बन् है कान्छा,’ मीना झक्झकाइरहन्थिन् । सायद मीना भइरहन्थिन् भने नाजिरले आमाको यो सपना पनि पूरा गरिदिन सक्थे । तर बीचमै छुटिन् । नाजिर एक्लो भए । पूरा भएन त्यो सपना ।

27

समर्पण श्रीका लेखहरु :

काठमाडौँ — ‘म त बिहे नगरी आमा पालेर बस्छु भनेको, एउटा केटो आइहाल्यो । मोहनी लाइहाल्यो । फसी त गएँ, गै त गएँ,’ हिउँदको कठ्यांग्रिँदो जाडोमा चुलोमा आगो ताप्दै मीनाले छोरा नाजिर हुसेनलाई एकदिन आफ्नो प्रेमकहानी सुनाइन् । मायाले डोहोर्‍याएपछि काठमाडौंकी रैथाने केटी भाग्दै भाग्दै तराईको अनकन्टार ठाउँमा पुगिन् ।

 

जसको भरमा उनी सबथोक त्यागेर हिँडिन्, उनैले अभरमा पारिदिए । दुःखको घनचक्कर त्यही दिनदेखि सुरु भयो । ‘ऊ विवाहितै थियो भन्ने थाहा भएको भए किन भाग्थें र ? फर्किने सोचें, पेटमा तेरो दाइ थियो । फेरि लभ परेरै त गएको हो, माया पनि लाग्यो,’ मीनाले आफू रोकिनुको विवशता सुनाएकी थिइन् ।

हिन्दु संस्कारमा हुर्किएकी मीना मुस्लिम परिवारकी बुहारी बनिन् । त्यसपछि उनको थर बदलियो । नामको पछाडि जोडिएको पहिचानलाई सुरुमा त स्विकार्नै गाह्रो पर्‍यो । ‘बेगम, के बेगम ? तासको बेगम ?’ आफूले आफैंलाई जिस्क्याइन् । सबैले मायाले बोलाउँदै जाँदा पछि त्यही नाम प्यारो लाग्यो । उनी मीना बेगम भइन् । मीना बेगमको कथा यतिबेला उनका छोरा नाजिर सुनाइरहेका छन् । घर सम्झँदा भक्कानिरहने उनी आमालाई कवितामा जहिल्यै पुकार्थे, ‘स्याउलीचोकमा सबथोक छ, तर तिमी छैनौ आमा ।’ नाजिर कथा लेख्छन्, कथा भन्छन्, कथामै खेल्छन् ।

फिल्म ‘गुन्युचोली’मा पनि त उनले भरेका छन् मीनाको प्राण । नाजिरका कविताका कुशल श्रोताहरूले कल्पना गरिरहेकी मीनालाई फिल्ममा पनि भेट्नेछन् । नाजिर भित्तामा टाँगिएको ऐना हेरेर घुम्रिएको कपाल कोरिरहेकी आमालाई सम्झिन्छन् । जो धोतीमा बिछट्टै सुहाएकी छन् । त्यसपछि कपाललाई जुरो बनाएर उनी स्वास्थ्यचौकी गइरहेकी छन् । उनलाई पछ्याइरहेका छन् बालख नाजिर । उनी मीनाबिना निदाउनै पनि बिर्सन्थे । आमाबिना निद्रा नपर्ने बानीले नाजिरलाई पछिसम्म छाडेन । अहिले सन्तानलाई काखमा लिएर सुताइरहेका आमाहरू देखे पनि नाजिरलाई मीना बेगमको यादले सताइहाल्छ । फिल्म गर्दा नाजिरको चरित्रले आमा पाउँछ । त्यो चरित्रमा पनि नाजिर मीना बेगम नै देख्छन् ।

जब जन्मदिन आउँछ, नाजिरको कानमा सिक्काका आवाजहरूले छोप्छन् । मीनाले वर्षभरि खुत्रुकेमा सिक्काहरू थुपार्थिन् । छोराको जन्मदिनमा खुत्रुके फुटाउँथिन् । र, हातले सोहोरेर दिँदै भन्थिन्, ‘कान्छा, यो सबै तेरो है ।’ नाजिर सम्झिन्छन्, ‘अब त्यो चाहेर पनि हुन्न ।’ हरवर्ष जन्मदिनमा लगातार दोहोरिने घटना थियो त्यो । त्यसकारण नाजिरलाई अहिले पनि सिक्का मोह छ । फिल्म ‘अगस्त्य’को काम गरिरहँदा उनी ठमेलको सडक हिँडिरहेका थिए । एउटा पसलमा वृद्ध आमाले माला बेचिरहेको देखे । पसलमा खिया लागेका सिक्कैसिक्काको पुराना माला झुन्डिएर बसेका थिए । जन्मदिनमा बज्ने सिक्काका आवाज कानमा गुन्जिन थाले । उनले बिना बार्गेनिङ त्यो झुन्डिएको सिक्काको माला किनिदिए ।

Nazir Hussain's mother: Meena Begum, who was lost in the middle of the road

कुनै दिन सिक्काहरूले नाजिरका अभाव पूरा गर्थे । अहिले पनि त सिक्काहरूले अभावै पूरा गर्छन्– आमाको । सिक्का मात्र हैन, कतै थैलो झुन्डिएको देखे भने पनि उनी मीना बेगमलाई सम्झिन्छन् । ‘आमाजीको थैलीमा ल्वाङ, सुकुमेल हुन्थ्यो । थैलीबाट पैसा झिकेर दिँदा आमाको वासना आउँथ्यो । त्यही वासनाले अहिलेसम्म पछ्याइरहेको छ,’ नाजिर फर्कीफर्की आमाका सम्झनाहरू गर्छन् ।

आमाले खेत रोपेर धान फलाउँथिन् । धानसँगै आमाछोराको सपना पनि फलाउँथिन् । आँगनमा धानको बिस्कुन लगाइरहेका बेलामा एकदिन नाजिरलाई भनिन्, ‘कान्छा, धान बेचेर यति पैसा कमाइन्छ कि त्यसपछि आमाछोरा प्लेन चढेर काठमाडौं जाने हो ।’ सिमरामा आक्कलझुक्कल उड्ने प्लेनसँगै उडिरहेका आमाका सपनालाई बालक नाजिरले पूरा गर्ने सोचे । उनले कागजको जहाज बनाए र जहाजमा आमाको नाम लेखेर उडाए । अनि आमा नजिक गएर भने, ‘तपाईंको सपना पूरा भयो ।’ अहिले काठमाडौंबाट जहाज चढेर घर जाँदै गर्दा नाजिरलाई हावाका झोंकाहरूले बेस्सरी हान्छन् । जहाज सिमराको आकाशबाट ओर्लंदै गर्दा मन भारी हुन्छ । आँखा निथ्रुक्क भिज्छ । ‘अहिले मसँग पैसा छ, तर सपना पूरा गर्न मीना बेगम छैनन्,’ नाजिर काँपेका स्वरमा भन्छन् ।

मीनालाई लामा कपाल भएका नाजिरका केटी साथी बिछट्टै मनपर्थ्यो । छोरालाई जिस्काउँदै भन्थिन्, ‘कान्छा ऊ बुहारी हुन लायक छ है ।’ नाजिर आमासँग मनपेट खोलेर कुरा गर्थे । आफ्ना मन मिल्ने दौंतरीलाई पनि नसुनाएका कुरा आमालाई सुनाउँथे । छोराको मन उदास भएको दिन उनी जिस्काउँथिन्, ‘त्यो केटीलाई बोलाइदिन्छु, अनि खुसी हुन्छस् कि ?’ कसैको नाममा छोरालाई जिस्काउँथिन्, अनि आमाछोरा दुवै हाँसोमा मग्न हुन्थे । छोराका निम्ति आमा ठूला रहर बुन्थिन् । तर आफ्ना रहर झुम्का, साडी र कुर्ता–सुरुवालमै सीमित राख्थिन् । मीना घर बस्दा म्याक्सी लगाउँथिन् । कार्यालय जाँदा धोती । कुर्ता–सुरुवाल लगाउने औधी रहर हुँदा पनि उनको समाजमा वर्जित थियो । आमा निषेधाज्ञा तोड्न मन पराउँथिन् । कुरैकुरामा नाजिरलाई भन्थिन्, ‘हेर कान्छा, कुन दिन म यो स्याउली चोकमा कुर्ता–सुरुवाल लगाएर हिँडिदिन्छु ।’

स्वास्थ्यचौकीमा स्वास्थ्य स्वयंसेविका भएर काम गरेकी मीनालाई आफ्नो छोरा हाकिम भएको हेर्न मन थियो । भन्थिन्, ‘म पछिसम्म स्वयंसेविका नै भएर बस्छु । तँ चाहिँ अहेब भएर आउँछस् ।’ हुन त त्यतिबेलै नाजिरलाई मादल बजाउन मन पर्थ्यो । नाटक गर्न मन पर्थ्यो । कलाकार बन्न मन पर्थ्यो । ‘तँ नाटक गर, गीत गा, जे जे गर तर अहेब पनि बन है कान्छा,’ मीना झक्झकाइरहन्थिन् । सायद मीना भइरहन्थिन् भने नाजिरले आमाको यो सपना पनि पूरा गरिदिन सक्थे । मीना बीचमै छुटिन् । नाजिर एक्लो भए । पूरा भएन त्यो सपना । नाजिरलाई अझै पनि चाहना छ, ‘कुनै दिन फिल्ममा अहेबको चरित्र निर्वाह गर्न पाएँ भनें एकैछिनका लागि भए पनि आमाजीको सपना पूरा हुन्छ ।’

सिमराको स्याउलीचोकमा नाजिर एक दाइ र दुई दिदीसँगै हुर्किए । हुर्किँदै गर्दा नाजिरका निम्ति बाको माया कहिल्यै न्यानो भएन । बा घरभन्दा बाहिर बढी हुन्थे । सबै दुःखका युद्ध आमा एक्लैले लडिन् । बा कहिल्यै आमाको संघर्षमा सामेल भएनन् । स्कुल पढ्दापढ्दै नाजिरका बाले घर छाडे । आमाले बालाई अन्तिम श्वाससम्म खोजिरहिन् । बा न कहिल्यै बा बन्न सके, न श्रीमान् । नयाँ ठाउँ, नयाँ भाषा, नयाँ संस्कार । त्यो अपरिचित दुनियाँलाई अँगाल्न आमाले धेरै वर्षहरू खर्चिइन् । नयाँ संस्कार अपनाए पनि मीना बेगम कहिल्यै पूर्ण मुस्लिम भइनन् । दसैं–तिहार मनाउँथिन् ।

‘मैले बच्चैदेखि बुबा नमाज पढेर सिमराबाट साइकलमा फर्किरहँदा आमाले बिहानबिहान पीपलको बोटमा पानी चढाइरहेको देखें,’ नाजिर सुनाउँछन् । यी दुवै संस्कार बोकेर हुर्किएका नाजिरलाई धेरैपछि थाहा भयो, ‘भगवान्सँग त मान्छेको आफ्नै नाता हुँदो रहेछ ।’ अहिले नाजिर रोजा पनि बस्छन्, मस्जिदमा नमाज पनि पढ्छन् । पशुपतिमा आरती पनि हेर्छन् । दसैं–तिहारमा टीका पनि थाप्छन् । धर्मलाई सद्भावसँग जोड्न त नाजिरलाई मीना बेगमले नै सिकाइन् ।

मीनाले भैंसीको दूध बेचेर सन्तानहरू हुर्काइन् । दिदीहरूको विवाहपछि भने भैंसी पनि बेच्नुपर्‍यो । नियमित हुने आम्दानी रोकियो । छोरा कसरी पढाउने ? मीनाको आँखाबाट निद्रा गायब भयो । उनले ठूलो जोखिम उठाइन् । घरको पछाडिपट्टि पाली थियो । नाजिरले एकदिन पालीमा आमाले चुलो बनाइरहेको देखे । लगत्तै आमाले रक्सी पार्ने भाँडो लुकाएर ल्याएको पनि भेटे । ‘मुसलमानको बुहारीले रक्सी पार्नु समाजका लागि डरलाग्दो कुरा थियो,’ नाजिर त्यो अप्ठ्यारो परिस्थितिमा फर्किन्छन्, ‘तर आमाजीले अरूले थाहा नपाओस् भनेर रातको एक बजे उठेर रक्सी पार्नुहुन्थ्यो । मेरो स्कुलको फि तिर्न यस्तो गरेको थाहा पाउँदा धेरै गाह्रो भयो ।’

नाजिरले पटकपटक आमालाई बिन्ती बिसाए, ‘बरु म अरू नै काम गर्छु, रक्सी नपार्नू ।’ तर मीनाले दुःख लुकाएरै पनि रक्सी पार्न छाडिनन् । नाजिर स्कुलबाट फर्किने बेला आमाले मर्चा र सक्खर किनेर ल्याउन पैसा दिन्थिन् । त्यतिबेला सेतो सक्खर किन्ने मान्छे धनीमानी गनिन्थ्यो । कालो सक्खर कि भैंसीलाई कुँडो खुवाउन किन्नुपर्थ्यो, कि रक्सी पार्न । उनको घरमा त भैंसी पनि थिएनन् । नाजिर साथीहरूलाई भन्थे, ‘मेरो काम छ तिमीहरू जाओ ।’ सुन्दरबस्तीनिर घरको भित्ताबाट साथीहरू परसम्म गइरहेको नाजिर लुकेर हेर्थे । जब आँखाबाट ओझेल पर्थे, उनी दौडेर सक्खर किन्ने पसलमा पुग्थे । ‘म पसलमा मर्चा र सक्खर किनेर स्कुलको झोलामा लुकाउँथें । त्यतिबेला सक्खर बेच्ने मान्छेले तिमी हुसेनको छोरा हैन भनेर सोध्ला भन्ने निकै डर हुन्थ्यो,’ उनी सम्झन्छन् ।

एकदिन जितपुर बजारमा रक्सी बेच्न गएकी आमा रिसाउँदै फर्किइन् । कुरा बुझ्दा, आमाले बेचेको रक्सीको मूल्य नै नपाएकी रहिछन् । नाजिरलाई त्यहाँ गएर झगडा गरेर पैसा उठाऊँझैं झोंक चल्यो । एकदिन आमाले रक्सी बोकेर चढेको टेम्पो दुर्घटनामा पर्‍यो । आमा दुःखी हुँदै घर फर्किइन् । अनि नाजिरलाई भनिन्, ‘कान्छा, रक्सी पनि सबै पोखियो । त आत्तिन चाहिँ नआतिई, मलाई केही भएको छैन ।’ तर आमाको हातमा चोट थियो, फुली बाँगिएको थियो । ‘त्यो बेला मलाई झन् यस्तो भयो कि आमाले कामै नगरून् । राति सुतिरहँदा पनि रक्सीको भाँडा फुटाइदिम् लाग्यो,’ नाजिर सम्झन्छन् ।

कसैले थाहा पाउँछ कि भन्ने डरले आमाछोरा खाल्डा खनेर छोक्राहरू (कट) पुर्थे । बिस्तारै यो कुरा आफन्तहरूमाझ हल्ला भयो । एकदिन दादी आएर प्रवचन दिन थालिन्, ‘मुसलमानको बुहारी भएर यस्तो गर्ने हो ? बनाउन छाड ।’ प्रवचन दिने दादीले के सहयोग गर्ने वचन दिन सकिनन् ? सम्झँदा नाजिरको मन भरिएर आउँछ । सन्तान पढाउनका लागि समाजसँग लडेर आमाले जे गरिन्, सानदार तरिकाले गरिन् जस्तो लाग्छ नाजिरलाई ।

ती दिनहरूमा मध्यरातमा आमा बेस्सरी रोएको आवाज आउँथ्यो । ‘तपाई हिजो रोएको हो ?’ बिहान नाजिरले सोध्दा आमाले कहिल्यै ‘हो’ भनिनन् । छोराका सामु आँसु लुकाइरहिन् । आमा रोएको नाजिर कहाँ सुन्न सक्थे र ! एकदिन त भने, ‘अब भएन । कि तपाईं रक्सी पार्न छाड्नु, कि म काठमाडौं गएर काम खोज्छु ।’ मीनाले अतालिँदै भनिन्, ‘त यस्तो गर्दै नगर, बरु म रक्सी बनाउन छाड्छु ।’ त्यसपछि उनीहरूले बाख्रा पाल्न सुरु गरे । नाजिर गाउँघरमा ज्यालाका काम गर्थे, स्कुल पनि पढाउँथे, ट्युसन पनि पढाउँथे । जम्मा गरेको पैसाले घरमा सामान जोड्थे । आमाको खुसी जोड्थे ।

नाजिरका कविताका अंशहरूमा आमाले छोराका निम्ति सपना साँच्दा फटाएका समयहरू झुल्किन्छन्–

तिमीले आफ्नो सपना बेचेर

मेरो सपना किनेकी हौ !

तिम्रो बुढ्यौली बेचेर

मैले, मेरो जवानी

किन्न नपरोस् ।

नाजिर कल्पन्थे, ‘एकदिन धेरै धन कमाउँछु । आमालाई महारानी बनाएर राख्छु ।’ तर नाजिरले धन कमाउने दिन नदेख्दै आमा बिरामी परिन् । उनका मिर्गौलाले काम गर्न छाडे । उनलाई काठमाडौंस्थित वीर अस्पतालमा ल्याइयो । रोगमाथि रोग थपिँदै गयो । सन् २०१२ तिर फर्किंदा नाजिरलाई साह्रै ऐंठन हुन्छ । १९ वर्षको केटो, जो आमालाई निको पार्ने घनचक्कर काटिरहेछ । अस्पताल बसेको एक महिनापछि आमाले मान्छे चिन्नै छाडिन् । एक समय त उनले नाजिरलाई नै ‘आमा’ भनेर बोलाइन् ।

अन्तिम क्षणसम्म पनि आमाले बालाई पर्खिरहिन् । ‘बूढाबूढीको कुरा छोराछोरीलाई भन्न नमिल्ने हुन्छ, तेरो बाउलाई बोलाइदे,’ उनले अनुनय गरिन् । उनीहरूले बालाई फोन गरे । बाले आउँछु पनि भने, तर आएनन् । बा नआउने थाहा पाएपछि आमाले भनिन्, ‘त्यसोभए मलाई गाउँ लैजाओ, म उतै मर्छु ।’ डाक्टरले पनि उपचारबाट हात झिकिसकेका थिए । भने, ‘अब उहाँले जे जे चाहनुहुन्छ । त्यही गर्नु ।’Nazir Hussain's mother: Meena Begum, who was lost in the middle of the road

नाजिर आमाको कपालमा तेल लगाइरहेका थिए । मीनाले कानको फुली निकालेर हातमा थमाइदिँदै भनिन्, ‘तँलाई केही गर्न सकिनँ, अब म जान्छु होला । मलाई नसरापे है ।’ आमाका यी गहिरा शब्दहरूले नाजिरका आँखाहरू ओभाउन पाएनन् । उनी धेरैबेर रोइरहे । मीना बेगमलाई गाउँ लगियो । गाउँ पुगेपछि पनि श्रीमानको सम्झनाले छाडिरहेको थिएन । सायद उनी केही भन्न चाहन्थिन्, जुन वर्षौंदेखि आफैंसँग साँचेर राखेकी थिइन् ।

त्यो रात नाजिरले आमालाई आफ्नै अँगालोमा बेरेर राखेका थिए । उनको हात आमाको गालानिर थियो । अरू बेला ननिदाएका नाजिर त्यसबेला भुसुक्कै भएछन् । बिहान ४ बजे नाजिरकी फुपू आइन् । उनले आमाको सिरानी निकालिदिइन् । नाजिर ब्युँझिए । आमाको गालानिर राखेको हात फिँजले भरिएको थियो । त्यहीबेला फुपूले भनिन्, ‘भाउजू बित्नुभयो ।’ त्यो क्षण नाजिरलाई आफू चिच्याएर रोएको मात्र याद छ ।

आमा बितेपछि त नाजिरको जीवनले अर्कै मोड लियो । स्नातक दोस्रो वर्ष पढ्दै गरेका उनको पढाइ छुट्यो । पढाइसँगै आमाको सपना पनि छुट्यो । कलाकारिता गर्न सहर पसेका नाजिर आफ्नै रहर छाडेर गाउँ फर्किए । ‘तर यसरी डुबिसकेको रहेछु कि रंगमञ्च भएन भने म झन् धेरै दुःखी हुनेरहेछु । थिएटरबाट आफूलाई हिलिङ गर्न पाउँछु भन्ने लाग्यो,’ नाजिर सम्झन्छन् । फेरि फर्केपछि के भयो ? त्यसपछि त नाजिरले कथा भन्न सुरु गरे । आफ्नो कथा । फिल्ममा उनले मधेशको अनुहारमात्र ल्याएनन् । मधेशको जीवन ल्याए, सुस्केराहरू ल्याए । ‘जब जब म कुनै चरित्र गर्छु, गाउँतिरका सबै मान्छे सम्झन्छु । घाँसदाउरा गर्न जाने साथीहरू सम्झन्छु । मैले देखेका, भोगेका सबै कुरा ल्याउने प्रयास गर्छु,’ नाजिर भन्छन् ।

अनामनगरस्थित मण्डला नाटकघर (हाल थापागाउँ) बन्दै गर्दा नाजिरको कलाकारिताको पनि जग बस्दै थियो । उनी फोनमा आमालाई फिल्मी शैलीमा गफ दिन्थे, ‘कालो पर्दाभित्र स्पटलाइट, त्यहाँ तिम्रो छोरा आउँछ । अनि तिमी के गर्छौ र बूढीमाउ ? रुन्छौ रुन्छौ ।’ आमा लजाउँदै भन्थिन्, ‘आ, मलाई त लाज लाग्छ । सबैले तँलाई हेरेर ताली बजाइरहन्छन् । म लास्टमा बसेर हेरिरहन्छु ।’

नाटक ‘सुनकेशरी’मा कालो पर्दाभित्र उसैगरी लाइट बल्यो । नाजिर झुल्किए । दर्शकदीर्घाबाट ताली पनि बज्यो । तर ‘लास्ट’मा हेरेर बस्छु भन्ने आमा थिइनन् । आमा वाचा पूरा नगरी कहिल्यै नफर्किने यात्रामा गइसकेकी थिइन् । अरूले उत्सव मानिरहेको त्यो क्षण नाजिर कसैले नदेख्ने गरी भक्कानिरहे । त्यसयता उनले आफ्नो करिअरमा थुप्रै बाजी मारे । नाटकदेखि फिल्मका पर्दाहरूमा आफूलाई स्थापित गरे । हिजो आमाछोरा बसेर देखेको धेरै कुरा अहिले नाजिरसँग छ । तर एउटै कुरा, मीना बेगम छैनन् । तैपनि नाजिर आमालाई कवितामा बुन्छन् र संकल्प गरिरहन्छन्–

गौंथलीले देखेको जस्तै तिम्रो एक अञ्जुली सपना

अझै पनि खेतका गराहरूमा

खोलाका छालहरूमा

अम्बाका फूलहरूमा

सहरका गल्लीहरूमा

उम्रन्छन्

बग्छन्

फल्छन्

अनि दौडन्छन्

यस्तो लाग्छ

तिम्रो एक अञ्जुली सपना वर्षौंवर्ष सम्हालेर राख्न सकूँ

सभार:कान्तिपुर

Leave a comment