समाचार
सस्तैमा समेटियो अफगानिस्तान, नेपालले चेज गर्ला १०३ रनको लक्ष्य ?

२०औं एसियाली खेलकुदको क्रिकेटतर्फ अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।
शुक्रबार जापानको आइचीको निशिनस्थित कोरोगी मैदानमा अफगानिस्तानले टस जितेर २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनायो ।
नेपाली बलरले अफगानिस्तानी ब्याटरलाई ठूलो साझेदारी हुनै दिएनन् । स्पिनरद्वय ललित राजवंशी र कुशल भुर्तेल चम्किएपछि अफगानिस्तान सस्तैमा समेटिएको हो ।
कुशलले चार तथा ललितले तीन विकेट लिएका थिए । भुर्तेलले चार ओभरमा एक मेडनसहित २१ रन खर्चिए । ललितले चार ओभरमा १३ रनमात्रै दिएका थिए । दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, करण केसी र कुशल मल्ल विकेटविहीन भए ।
अफगानिस्तानका फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रनले समान ३० रन बनाएका थिए । नांगेयालिया खानले १७ रन बनाएर अविजित रहे ।



