समाचार

नियुक्ति सिफारिस भएका राजदूत को कहाँ काम गर्छन् ज्ञानेन्द्र शाहीले संसद्मा दिए फेहरिस्त 

काठमाडौँ, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विभिन्न देशका लागि नियुक्त राजदूतको विषयमा आपत्ति जनाएका छन् । 
शाहीले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयले बनाएको मापदण्ड लत्याएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विदेशी निकायमा कार्यरत व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको दाबी गरे । 

शाहीले परराष्ट्र मन्त्रालयको राजदूत नियुक्तिसम्बन्धी मापदण्डको बुँदा नम्बर १० र १४ लाई संसद्मा उद्धृत गर्दै प्रश्न उठाएका हुन् ।

मापदण्डको बुँदा नम्बर १० मा ‘हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट वित्तपोषित कुनै पनि गैरसरकारी संस्थामा कार्यरत हुनु नहुने’ र बुँदा नम्बर १४ मा ‘यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलबसहितको पदमा नियुक्त भएको भए, उक्त पद छोडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने’ व्यवस्था रहेको उनले स्मरण गराए ।

शाहीले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको नाम र उनीहरूको संस्थागत संलग्नता सार्वजनिक गर्दै मापदण्ड उल्लंघन भएको बताए ।

शाहीका अनुसार अमेरिकाका लागि प्रस्तावित चिरञ्जीवीजंग थापा: अक्सफामका एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत रहेको, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन: विश्व बैंक समूहअन्तर्गतको आइएफसीमा कार्यरत रहेको, जर्मनीका लागि प्रस्तावित सरु जोशी: युएन वुमनलगायतका अन्तर्राष्ट्रिय संस्थामा काम गरेको ।
ओमानका लागि प्रस्तावित पद्माक्षी राणा: अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा संलग्न रहेको दाबी गरेका छन् ।

यस्तै, दक्षिण कोरियाका लागि प्रस्तावित संगम श्रेष्ठ: एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा विकास संस्थामा कार्यरत रहेको, साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार: विश्व बैंक तथा एसियाली विकास बैंक समर्थित परियोजनामा काम गरेको विवरण रहेको उनको भनाइ छ ।
आफूले कुनै व्यक्तिको व्यक्तिगत योग्यता वा क्षमतामाथि प्रश्न नउठाएको स्पष्ट पार्दै शाहीले विधिको शासन र मापदण्डको कार्यान्वयनमाथि सरकारको नियतमाथि प्रश्न उठाए ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button