सहमति कार्यान्वयनमा ढिलाइप्रति पूर्वअध्यक्ष आरके शर्माको असन्तुष्टि, वर्तमान नेतृत्वलाई तत्काल प्रतिबद्धता पूरा गर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले संस्थाभित्र भएको बृहत् एकतालाई व्यवहारमा उतार्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। एकताका लागि भएका सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेतृत्वलाई विगतका प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूलाई सम्बोधन गर्दै जारी गरेको सन्देशमा शर्माले बृहत् एकताका क्रममा भएको दशबुँदे मूल सहमति तथा त्यसपछिका लिखित र मौखिक समझदारीहरू अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्। उनले सहमतिको भावना व्यवहारमा देखिन नसक्दा संस्थाभित्र अन्योल र असन्तुष्टि बढ्ने खतरा रहेको बताएका छन्।
शर्माले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, विदेशमा रहेका नेपालीहरूको लगानी, अधिकार र हितसँग सम्बन्धित विषयहरू संस्थाको प्राथमिकताबाट क्रमशः ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, विश्वभर रहेका गैरआवासीय नेपालीले अपेक्षा गरेका मूल एजेन्डाभन्दा आन्तरिक विषयले बढी स्थान पाउन थालेको अवस्था संस्थाका लागि सकारात्मक संकेत होइन।
उनले पूर्वअध्यक्ष बद्री केसी र महेश श्रेष्ठ लाई एकताको मूल मर्म जोगाउँदै विगतका सहमतिहरू कार्यान्वयन गर्न थप सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। त्यस्तै, अध्यक्ष डा. हेमराज शर्मा लाई सम्पूर्ण पक्षको साझा नेतृत्वका रूपमा उभिएर सबैलाई समेट्दै संस्थालाई एकताबद्ध रूपमा अघि बढाउन अनुरोध गरेका छन्।
शर्माले एनआरएनए कुनै व्यक्ति, समूह वा गुटको संस्था नभई विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै व्यक्तिगत सोचभन्दा संस्थागत सहमति, सामूहिक निर्णय र साझा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान नेतृत्व तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूको सहभागितामा यथाशीघ्र विशेष बैठक बोलाउन माग गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा उठिरहेका प्रश्नहरूको जवाफ संस्थाभित्रै गम्भीर छलफलमार्फत खोजिनुपर्ने उनको धारणा छ। साझा धारणा निर्माण गरेर मात्रै संस्थाप्रति बढ्दै गएको जिज्ञासा, अन्योल र अविश्वास अन्त्य गर्न सकिने उनले बताएका छन्।
पूर्वअध्यक्ष शर्माले अध्यक्ष डा. हेमराज शर्माले तत्काल बैठक बोलाई विगतका सहमति, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे स्पष्ट तथा जिम्मेवार छलफलको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। संस्थालाई एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउने दायित्व सम्पूर्ण नेतृत्वको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
एनआरएनए विगतमा नेतृत्वबीचको विवाद, अविश्वास र आन्तरिक द्वन्द्वका कारण लामो समय विभाजित बनेको थियो। विभिन्न पक्षबीच लामो प्रयासपछि सहमति जुट्दै एकताको प्रक्रिया अघि बढेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसके संस्था पुनः पुरानै अवस्थातर्फ फर्किन सक्ने चिन्ता व्यक्त हुन थालेको छ।
पूर्वअध्यक्ष आरके शर्माको पछिल्लो अभिव्यक्तिलाई वर्तमान नेतृत्वप्रति विगतका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्न दिइएको स्पष्ट र गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले प्रत्यक्ष रूपमा कसैमाथि आरोप नलगाए पनि सहमति कार्यान्वयनमा देखिएको सुस्तता अन्त्य गर्दै संस्थालाई पुनः गैरआवासीय नेपालीहरूको साझा हित, अधिकार र सरोकारका मुद्दामा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।



