वैदेशिक रोजगारमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

चितवन — भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका १३ जना श्रमिकको शव निःशुल्क नेपाल ल्याएको जनाएको छ।
महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागका प्रमुख सन्देश वाग्लेका अनुसार श्रम स्वीकृति लिएर विदेश गएका भरतपुरका नागरिकको निधन भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो। शव कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब तथा पोर्चुगलबाट नेपाल ल्याइएको उनले जानकारी दिए।
उनका अनुसार हृदयाघात, आत्महत्या तथा विभिन्न दुर्घटनाका कारण ती श्रमिकको मृत्यु भएको थियो।
वाग्लेले श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकहरूको स्वास्थ्य बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान हुने भएकाले निधनको अवस्थामा परिवारले राहत तथा क्षतिपूर्ति पाउने व्यवस्था रहेको बताए।
उनका अनुसार श्रम स्वीकृतिका क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ र उमेरअनुसार म्यादी जीवन बिमाका लागि २ हजार ५०० देखि ९ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ। उक्त बिमा तथा कोषको सुविधा दुई वर्षसम्म कायम रहने गर्छ।
श्रमिकको निधन भएमा परिवारले वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ तथा बिमा कम्पनीबाट १४ लाख रुपैयाँसम्म क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था रहेको उनले बताए।
यस्तै, मृतकका आश्रित सन्तानको शिक्षाका लागि कक्षा ८ सम्म वार्षिक १२ हजार रुपैयाँ तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई वार्षिक १६ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था रहेको पनि उनले जानकारी दिए।
वाग्लेका अनुसार श्रम स्वीकृति लिएर विदेशमा रहेका श्रमिकका परिवारका सदस्य जटिल रोगबाट पीडित भएमा उपचार खर्चसमेत वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने व्यवस्था छ। गत आर्थिक वर्षमा चार जनालाई महानगरपालिकाको सिफारिसमा उपचार खर्च उपलब्ध गराइएको थियो। उनीहरूले रोगको प्रकृतिअनुसार ४ लाखदेखि ७ लाख रुपैयाँसम्म आर्थिक सहायता प्राप्त गरेका छन्।
महानगरपालिकाले वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र परेका श्रमिकको उद्धारमा पनि सहजीकरण गर्दै आएको जनाएको छ। गत आर्थिक वर्षमा परिवारको अनुरोधपछि दुई जना श्रमिकको उद्धार गरिएको थियो। एक जना झैँ–झगडाको घटनामा प्रहरी नियन्त्रणमा परेका थिए भने अर्का एक जना मादक पदार्थ बिक्रीसम्बन्धी अभियोगमा पक्राउ परेका थिए।
शव नेपाल ल्याइएका सबै श्रमिकका परिवारले कानुनअनुसारको राहत तथा क्षतिपूर्ति प्राप्त गरिसकेको महानगरपालिकाले जनाएको छ।
वाग्लेले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा भरतपुर महानगरपालिकाबाट नै उपलब्ध हुने जानकारी सबै नागरिकसम्म नपुगेकाले धेरै व्यक्ति अनावश्यक रूपमा काठमाडौं धाउने गरेको बताए। उनले जहाँबाट श्रम स्वीकृति लिएको भए पनि भरतपुर महानगरपालिकाका बासिन्दालाई वैदेशिक रोजगारसम्बन्धी समस्या परेमा महानगरले आवश्यक सहजीकरण गर्दै आएको स्पष्ट पारे।
भरतपुर महानगरपालिकाले २०८० सालदेखि श्रम स्वीकृतिसहित वैदेशिक रोजगारसम्बन्धी विभिन्न सेवा प्रवाह गर्दै आएको छ।



