
कलैया (बारा), साउन १६ — बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा साम्प्रदायिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले शनिबार कलैयामा बृहत् सर्वदलीय तथा सर्वपक्षीय हिन्दु–मुस्लिम सद्भाव र्याली सम्पन्न गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सम्पन्न र्यालीमा बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिताल तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य चन्दनकुमार सिंहको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सुरक्षा निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भएको र्याली कलैया बजारका प्रमुख सडकहरूको परिक्रमा गर्दै भरतचोकमा पुगेर समापन भएको थियो। र्यालीका क्रममा सहभागीहरूले “हिन्दु–मुस्लिम भाइ–भाइ”, “आपसी सद्भाव कायम गरौं”, “सामाजिक एकता हाम्रो पहिचान” लगायतका नारासहित धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र सामाजिक मेलमिलापको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नागेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जयसवार, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो।
यसैगरी विभिन्न मठ–मन्दिरका पण्डित–पुरोहित, मस्जिदका मौलवी, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरू पनि र्यालीमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले समाजमा फैलाइने अफवाह, भ्रम र उक्साहटप्रति सचेत रहँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई अझ मजबुत बनाउन सबै समुदायले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। उनीहरूले बारा बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक जिल्ला भएकाले यहाँको सामाजिक एकता, आपसी विश्वास र सहअस्तित्वको संरक्षण गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको बताए।
जिल्ला प्रशासन कार्यालयका अनुसार र्याली शान्तिपूर्ण, उत्साहजनक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। सहभागीहरूले भविष्यमा पनि यस्ता सद्भावमूलक कार्यक्रमलाई निरन्तरता दिँदै हिन्दु–मुस्लिम समुदायबीचको भाइचारा, विश्वास र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।फोटोफिचर:कृष्णागुप्ता




