मधेसराजनीतिसमाचारसमाज

कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलमा ६ महिनादेखि रोकिएको विपत राहत वितरण हुने

वीरगन्ज, १८ असार — वीरगन्ज महानगरपालिकामा विगत करिब ६ महिनादेखि रोकिएको विपत राहत रकम वितरण प्रक्रिया अघि बढाइएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलपछि आगलागी, बाढी र हावाहुरीबाट प्रभावित १५ परिवारले राहत पाउने भएका हुन्।

महानगरपालिकाका अनुसार विभिन्न वडाबाट प्राप्त राहतसम्बन्धी निवेदनमाथि कार्यवाहक प्रमुख आलमले चासो दिँदै आवश्यक छानबिन गर्न विपत व्यवस्थापन शाखालाई निर्देशन दिएका थिए। त्यसपछि वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपतका कारण भौतिक क्षति भएका परिवारहरूको स्थलगत अध्ययन तथा पहिचान गरिएको थियो।

छानबिनका आधारमा प्रभावित परिवारलाई क्षतिको प्रकृतिअनुसार प्रतिपरिवार ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। यससँगै लामो समयदेखि राहतको प्रतीक्षामा रहेका पीडितहरूले आर्थिक सहयोग पाउने भएका छन्।

विपत व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ र राहत रकम केही दिनभित्र सम्बन्धित लाभग्राहीलाई वितरण गरिनेछ।

कार्यवाहक प्रमुख आलमले विपतका बेला नागरिकलाई छिटो, प्रभावकारी र जिम्मेवार ढंगले सेवा उपलब्ध गराउनु महानगरपालिकाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि विपत प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button