समाचार

गढीमाई मन्दिरमा उच्छृखल गतिविधि गर्ने तीन जना पक्राउ

बारा – बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ०१ स्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा उच्छृखल गतिविधि गरेको आरोपमा तीन जना लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा ती व्यक्तिहरूलाई पहिचान गरी विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका–२ बस्ने २३ बर्षका एजाज अंसारी, बाराको महागढीमाई नगरपालिका–१ बस्ने १९ बर्षका अरमान अंसारी र सोही स्थानका ३६ बर्षका विधा सागर पटेल छन्।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार माघ १ गते पञ्चवर्षीय मेला चलिरहेको बेला मन्दिरमा दर्शन गर्न आएका भक्तजनका परेवा लुट्ने, मन्दिरका घण्टी, पंखा, त्रिशुल, सिसिटिभी क्यामरा, दानपेटिका लगायतका सामग्री तोडफोड गर्ने तथा मन्दिर परिसरमा क्षति पुर्‍याउने कार्य गरिएको थियो। ती व्यक्तिहरूले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई समेत बाधा पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ। पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले धार्मिक स्थलमा कुनै पनि प्रकारको उच्छृखल गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। साथै, मन्दिरमा शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षाका थप उपायहरू अवलम्बन गरिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button