मधेससमाचार

फेटामा श्री मा अम्बे कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

फेटा (बारा):=श्री मा अम्बे कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष अनुपमा पाण्डेय कि विष्टको अध्यक्षतामा सम्पन्न सभामा फेटा गाउँपालिकाका कृषि, पशुपन्छी तथा सहकारी प्रशिक्षक सन्जय कुश्वाहा प्रमुख अतिथि रहेका थिए।

सभामा बोल्दै प्रमुख अतिथि कुश्वाहाले “सबैका लागि एक र एकका लागि सबै” भन्ने सहकारीको मूल मन्त्रलाई आत्मसात् गर्दै सहकारीलाई नियम र सिद्धान्तअनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले कृषि ऋणको सदुपयोग गरी आम्दानी बढाउनुका साथै संस्थालाई समयमै रकम बुझाउनु प्रत्येक ऋणी सदस्यको दायित्व रहेको उल्लेख गरे। सहकारी संस्था बचतकर्ताको पैसा हिनामिना गर्ने होइन, बरु सदस्यको जीवनस्तर र आर्थिक उन्नति गर्नका लागि हो भन्ने कुरामा उनले जोड दिए।

सभामा संस्थाकी अध्यक्ष पाण्डेयले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् भने प्रबन्धक नरेन्द्र पाण्डेयले आर्थिक प्रतिवेदन पेश गरे। उनका अनुसार ३२ जना शेयरधनीको संयुक्त प्रयासमा स्थापना भएको सहकारीले आ.व. ०८१/०८२ मा रु. १,११,१४८.५० कुल सम्पत्ति, रु. ८,९९,७४० सकल कारोबार, रु. ८०,७६५ कार्यालय खर्च र रु. १७,८९८ वार्षिक नाफा आर्जन गरेको छ।

प्रबन्धक पाण्डेयका अनुसार सहकारीलाई नाफामुखी नभई सेवामुखी संस्था बनाउने लक्ष्यसहित सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर सदस्यलाई रोजगारीमुखी बनाउन र कृषकलाई सामूहिक खेतीतर्फ आकर्षित गराउन संस्था क्रियाशील रहेको उनले जानकारी दिए।

कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्ण कुमार साहले स्वागत मन्तव्य राखे भने सञ्चालन रामभरोस रामले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button