बेइजिङ — भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मंगलबार साँझसम्म ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।बेइजिङका उपमेयर जिया लिनमाओले बुधबार आयोजित पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको बताए । मुख्यतः, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूको ज्यान गएको हो । जुलाई २९ देखि अगस्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’ का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस प्रभावित भएका छन् भने करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्याएको छ । जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र मृतक संख्यामा बढ्न सक्ने जनाइएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २ सय ७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३ सय ४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ ।अथक उद्धार र पुनःस्थापना प्रयास जारी रहेको र अधिकांश गाउँमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात पुनःसुचारु भएको छ । बेइजिङले प्रभावित जनसंख्याका लागि अत्यावश्यक दैनिक उपभोग्य वस्तु, आपत्कालीन आपूर्ति र चिकित्सा उपचार सुनिश्चित गरेको जनाइएको छ । विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रुत कदम चालेको उपमेयरले बताए । ‘बेइजिङ सहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ ।प्रान्तीय राजधानी छेन्दुको दक्षिण पश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्याशित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी