काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफैं प्रधानमन्त्री भएका बेला होस् वा अरु नै प्रधानमन्त्री हुँदा होस्, ओलीले आफू निकट विवादास्पद व्यक्तिलाई जहिल्यै संरक्षण गरिरहेका छन् ।
ओली प्रधानमन्त्री भएका बेला ओम्नी, यति काण्ड सार्वजनिक भयो । कोरोनाका स्वास्थ्य सामग्री खरिदमा करोडौं भ्रष्टाचार भयो । त्यसबेला ईश्वर पोखरेल, भानुभक्त ढकाल जस्ता भ्रष्टाचार काण्डमा मुछिए ।
अर्थमन्त्री रहेका युवराज खतिवडा विद्युतीय कारलाई छुट दिने विषयले विवादमा तानिए । अग्रिम कमिसन लिएर विद्युतीय कारमा कर बढाएको उनीमाथि नीतिगत आरोप लाग्यो । विष्णु पौडेल ललिता निवास जग्गा व्यक्तिको नाम प्रकरणमा मुछिए ।
पौडेलका छोरा नवीनले किनेको जग्गा फिर्ता गरिदिएको भन्दै पौडेललाई चोख्याइयो । ओलीकै निर्देशनमा अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले पौडेललाई बालुवाटार काण्डमा जोगाइदिएका हुन् ।
बहालवाला सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा ७० करोड घुसकाण्डमा पदच्यूत भए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बिचौलियासँग बास्कोटाले ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको थियो ।
तर बास्कोटामाथि कुनै छानबिन भएन । ओलीकै कृपाका कारण बास्कोटाले उन्मुक्ति पाए । वाइडबडी खरिद काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी मुछिए ।
जसमा चार अर्ब भ्रष्टाचार भएको तथ्य बाहिरिएको थियो । तर, केपी ओलीले भ्रष्टाचार नै नभएको दाबी गरे । जबकि सार्वजनिक खेला समितिले समेत वाइडबडी खरिदमा भ्रष्टाचार भएको र संलग्नलाई कारबाही गर्न निर्देशनसमेत दिइसकेको थियो ।
तर अख्तियार प्रयोग गरेर त्यसलाई पनि सामसुम पारियो । अख्तियार प्रमुख आयुक्त राई आफैं भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् ।
नेपाल आयल निगमको आठ करोड भ्रष्टाचारमा राई मुछिएका थिए । तर उनलाई कारबाही नगरी ओलीले सिधै प्रमुख आयुक्त नियुक्त गरिदिए । अहिले तिनै राई नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् ।
अहिले नक्कली शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझी तानिएका छन् । बादलकी श्रीमती नैनकला थापा र अख्तियार प्रमुख आयुक्त राईको नाम पनि मुछिएको छ ।
बहालवाला सचिव नै खोरमा पुगेकाले तर्सिएका ओली बिहीबार सिधै सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोषी नछुटुन्, निर्दोष नफसुन् भन्दै बादल र टोपबहादुरको बचाउमा उत्रिएका छन् ।
उनले नक्कली शरणार्थी प्रकरणलाई राजनीतिक रंग दिने प्रयास गरेका छन् । प्रहरीले अनुसन्धान सुरु नगर्दै पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति यसरी प्रधानमन्त्रीलाई भेटेर कारबाही नगर्न दबाब दिनुले ओली कतिसम्म भ्रष्टाचारीलाई संरक्षण गर्दा रहेछन् भन्ने माथि उल्लिखित घटनाले पुष्टि हुन्छ ।
जबकि शरणार्थी प्रकरणमा प्रहरीले बादलका छोरा प्रतीक थापा, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सन्दीप त पक्राउ नै परिसके ।
अब बादल पनि तानिने सम्भावना बढेको छ । आफ्नै सरकारका पालामा भएको भ्रष्टाचारको पोल खुलेपछि ओली अहिले सामसुम पार्न अघि सरेका हुन् । उनकै कारण टोपबहादुर रायमाझी फरार भएको बताइन्छ ।