चीनको भ्रष्टाचारविरोधी अभियानले लगानीकर्ता र उद्यमी जोखिममा
चीनको भ्रष्टाचारविरोधी अभियानले लगानीकर्ता र उद्यमी जोखिममा जोखिमपूर्ण अर्थतन्त्रको समयमा चीनले बैंक तथा बिमाकर्तालाई भ्रष्टाचारविरोधी अभियानको निसाना बनाएको छ
चीनका बैंक तथा बिमाकर्ता भ्रष्टाचारविरोधी अभियानको नयाँ निसानामा परेका छन् । यो अभियानले शीर्ष अधिकारीहरूलाई फसाउनुका साथै पहिल्यैदेखि कमजोर लगानीकर्ता र उद्यमीलाई जोखिममा पारेको छ । कम्युनिस्ट पार्टीको शीर्ष भ्रष्टाचारविरोधी निकाय, केन्द्रीय अनुशासन निरीक्षण आयोग (सिसिडिआई)ले यो वर्ष अहिलेसम्म चीनका महत्वपूर्ण वित्तीय संस्थाका एक दर्जनभन्दा बढी शीर्ष अधिकारीमाथि छानबिन गरेको बताइएको छ ।
सिसिडिआईका अनुसार चीनको वित्तीय प्रणालीका तीन शीर्षस्थ नाममाथि छानबिन या आरोप लगाइएको छ । यसमा एभरब्राइट ग्रुपका पूर्वअध्यक्ष ली सियाओपेङ छन् । एभरब्राइट चीनको पुरानो र सर्वाधिक ठूलो सरकारी स्वामित्व रहेको वित्तीय समूहमध्ये एक हो ।
सिसिडिआईले एक विज्ञप्ति जारी गर्दै लीमाथि कानुन र अनुशासन उल्लंघन गरेको शंका भएको र त्यसैमाथि उनको छानबिन भइरहेको बताएको छ । उता, एभरब्राइटले पनि भ्रष्टाचारविरोधी अभियानअन्तर्गत छानबिन गर्ने पार्टीको निर्णय पूर्ण रूपमा स्वीकार गर्दै लीमाथिको छानबिनलाई सहयोग गर्ने जनाएको छ । सन् २०२२ मा राजीनामा दिनुअघि लीले सात वर्षसम्म बैंकको अध्यक्षता सम्हालेका थिए ।
चीन सरकारको स्वामित्व रहेको बैंक अफ चाइनाका पूर्वअध्यक्ष लियु लियाङमाथि पनि आयोगले छानबिन थालेको छ । गत महिना उनले कार्य समायोजन भन्दै पदबाट राजीनामा दिएका थिए । यस्तै, सन् २०१८ देखि २०२२ को सुरुवातसम्म राज्य स्वामित्ववाला चाइना लाइफ इन्स्योरेन्सको नेतृत्व गरेका वाङ बिनलाई राष्ट्रिय अभियोजकले घुस लिएको र विदेशी बचत लुकाएको आरोप लगाएका थिए । आरोपपछि सिसिडिआईले पहिलोपटक सन् २०२२ को जनवरीमा छानबिन गरेको थियो । विश्लेषकका अनुसार यो अभियानको महाजालोले प्रविधि क्षेत्रमा प्रसिद्ध नाम, लगानीकर्ता एवं बैंकर बाओ फ्यानलाई पनि फसाएको हुन सक्छ । उनी गत फेब्रुअरीमा गायब भएका थिए ।
अमेरिका र चीनबीचको सम्बन्ध पनि दशककै तल्लो बिन्दुमा छ, जसले गर्दा प्रविधि र लगानीमा तनाव बढेको छ भने लगानी पनि अनिश्चित बनेको छ
गत हप्ता सिसिडिआईले सरकारी स्वामित्ववाला ३० मुख्य संस्थानको निरीक्षण गर्ने घोषणा गरेको छ । यसमा चाइना इन्भेस्टमेन्ट कर्प, सार्वभौम सम्पत्ति कोष, प्रमुख सरकारी परियोजनालाई आर्थिक सहायता प्रदान गर्ने चाइना डेभलपमेन्ट बैंक र राज्यनियन्त्रित ऋणदाता रहेका छन् । यो विषय चिनियाँ राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकाल सम्हालेको केही समयपछि आएको हो । लगत्तै उनी चिनियाँ अर्थतन्त्रमाथि पार्टीको पकड बलियो बनाउन अग्रसर बने ।
‘अहिलेको आर्थिक कारबाही वित्तीय क्षेत्रविरुद्ध सीको भ्रष्टाचारविरोधी अभियानको एउटा नयाँ लहर हो,’ युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा चाइना स्टडिजका एसोसिएट प्रोफेसर चोंगी फेङ भन्छन् । त्यसो त भ्रष्टाचारविरोधी अभियान सीको प्रमुख अभियान हो । यो सत्तारूढ कम्युनिस्ट पार्टी, सरकार, सेना र राज्यको स्वामित्व रहेका कम्पनीमा सन् २०१२ मा सीले सत्ता सम्हालेपछि लहरमा बगिरहेको छ । अभियानअन्तर्गत अहिलेसम्म लाखौँ अधिकारी कारबाहीमा परेका छन् ।
पूर्ण नियन्त्रण : यो वर्ष सिसिडिआईले देशको ठूलो वित्तीय क्षेत्रमा कारबाही गर्न ध्यान केन्द्रित गरेको छ । फेङका अनुसार यसमा दुईवटा कारण हुन सक्छन् । सीका लागि आर्थिक क्षेत्रचाहिँ सैन्य र आन्तरिक सुरक्षा व्यवस्थापछि नियन्त्रणको दाबी गर्ने तीन प्रमुख क्षेत्रमध्ये अन्तिम हो । चीनमा गहिरिँदो आर्थिक एवं वित्तीय संकटबाट मुक्ति पाउन तथा अमेरिकासँग आर्थिक युद्धका लागि तयार रहन यो क्षेत्रमा नियन्त्रणलाई केन्द्रीकृत गनुपर्ने आवश्यकता सीलाई छ ।
राजधानी बेइजिङ कैयौँ घरेलु र वैश्विक समस्याले घेरिएको छ । घरजग्गा व्यवसायले सर्वाधिक खराब रेकर्ड बनाएको छ । युवा बेरोजगारी उच्च मात्रामा छ । यस्तै, स्थानीय सरकार उच्च कर्जाको बोझ र लाभ कटौतीसँग संघर्ष गरिरहेको छ । अमेरिका र चीनबीचको सम्बन्ध पनि दशककै तल्लो बिन्दुमा छ, जसले गर्दा प्रविधि र लगानीमा तनाव बढेको छ भने लगानी पनि अनिश्चित बनेको छ । कारण, निजी व्यवसायको अनुकूल वातावरण छैन । विदेशी कम्पनीहरू भूराजनीतिक तनावमा परेका छन् ।
अर्थतन्त्र लयमा फर्किने कोसिस गर्दैगर्दा बेइजिङ विकासलाई पुनः गति दिँदै लाखौँको संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने दबाबमा छ । शीर्ष आर्थिक अधिकारी निजी उद्योगलाई विश्वास दिलाउन कोसिस गरिरहेका छन् । यस्तै, व्यावसायिक विश्वासलाई माथि उठाउने कोसिस पनि उनीहरूको छ ।
राजधानी बेइजिङ कैयौँ घरेलु र वैश्विक समस्याले घेरिएको छ । घरजग्गा व्यवसायले सर्वाधिक खराब रेकर्ड बनाएको छ । युवा बेरोजगारी उच्च मात्रामा छ ।
तर, चीनको विशाल आर्थिक क्षेत्रमा गहिरिँदो छिद्रले लगानीकर्तालाई समस्या उत्पन्न गराउन सक्छ । पिपुल्स बैंक अफ चाइनको पछिल्लो तथ्यांकअनुसार बैंक र बिमाकर्तासँग करिब ६०० खर्ब डलर सम्पत्ति छ, जुन देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनको ३४० प्रतिशत हो ।
विरोधी लक्ष्य : चीन पुनर्जागरणका संस्थापक सिइओ बाओ फ्यान गायब भएपछि बैंकको सेयरमूल्यमा गिरावट आयो । फेब्रुअरी मध्यदेखि करिब २७ प्रतिशतको गिरावट आएको छ । यसैबीच, चीनको प्रविधि क्षेत्र अझै पनि सीको सत्तारूढ कम्युनिस्ट पार्टीको चोट सहन बाध्य छ । यसले बजारमूल्यमा खर्बौं डलर नोक्सान पुर्याएको छ । अलिबाबा कम्पनीको सेयर अझै पनि आफ्नो उच्चस्तरबाट ७० प्रतिशत तल छ ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युट्स सेन्टर फर चाइना एनालाइसिसमा चिनियाँ राजनीतिका फेलो रहेका निल थोमसका अनुसार सीको हालसालैको कारबाही नीतिले घरेलु र विदेशी दुवै लगानीबीचको व्यापारिक भावनामा ठेस पुर्याउन सक्छ । कोही त पहिल्यैदेखि राजनीतिक अवस्थाले भयभीत छन् । सी चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित गर्न र निजी व्यवसायमा पार्टीको नेतृत्व बढाउन चाहन्छन् । यी दुवै लक्ष्य परस्पर छैनन् । पछिल्लोले पहिलेकोलाई बाधा पुर्याउने सम्भावना छ ।
सन् २०१७ मा पार्टीले प्रणालीगत जोखिमको चिन्तामा आधारित बैंक र छाया–ऋण दिने संस्थानले जोखिमपूर्ण ऋण दिँदा व्यापक कारबाही सुरु गर्यो । अधिकारीहरूले देशका ठूला निजी अनबङ, एचएनए, वान्डा र फोसुन ग्रुपलाई लगाम लगाउने कोसिस गर्यो । उनीहरूले आक्रामक वैश्विक विस्तारका लागि उच्च कर्जा लिएका थिए । बैंक तथा वित्तीय संस्थामाथिको नवीनतम कारबाही फेब्रुअरीमा भ्रष्टाचारविरोधी प्रहरीद्वारा सुदृढ गरिएको हो । सिसिडिआईले आफ्नो वेबसाइटमार्फत कडा शब्दमा टिप्पणी गर्दै कठोर सजाय दिनुपर्ने बताएको छ । उसका अनुसार वित्तीय क्षेत्र, राज्यको स्वामित्व रहेका उद्यम र अन्न खरिदबिक्रीजस्ता क्षेत्रमा भ्रष्टाचार छ । नयाँपत्रीका